च्याम्पियन्स लिग : हल्यान्ड चम्किँदा डर्टमुन्डले सेभिल्लालाई उसकै घरमा हरायो

काठमाडौं, फागुन ६
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डले जित हात पारेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको पहिलो लेगको खेलमा जर्मन टिमले स्पेनिस क्लब सेभिल्लालाई उसकै घरेलु मैदानमा २–३ गोलअन्तरले स्तब्ध बनायो । अवे मैदानमा डर्टमुन्डलाई जिताउन युवा स्टार अर्लिङ हल्यान्डले उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरे ।

घरेलु टोली सेभिल्लाले खेलको सातौं मिनेटमा सुसोको गोलबाट अग्रता लिए पनि पछि लगालग ३ गोल खाएको थियो । सातौं मिनेटमा सुसोले पहिलो गोल गरेर सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, १८औं मिनेटपछि डर्टमुन्डले ३ गोल हान्यो ।

खेलको १९औं मिनेटमा मोहमद डाउडले पहिलो गोल गरेर खेल १–१ बनाउँदा २७औं मिनेटमा हल्यान्डले गोल गर्दै टिमलाई लिड दिएका थिए । त्यसपछि ४३औं मिनेटमै हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमै १–३ को अग्रता बनायो ।

थप प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा डर्टमुन्डले थप गोल गर्न सकेन भने ८४औं मिनेटमा सेभिल्लाले दोस्रो गोल फर्काएर गोलअन्तर छोट्यायो । यसपटक लुका डे जोङले गोल गरेपछि डर्टमुन्डको जित २–३ मा खुम्चिएको थियो । अब दोस्रो लेगको खेल डर्टमुन्डको घरमा हुनेछ ।

प्रकाशित मिति ६ फाल्गुन २०७७, बिहीबार ०३:५९
Loading...