क्याम्प नोउमा ह्याट्रिक गर्दा एमबाप्पेले दिए रोनाल्डोको झल्को !

काठमाडौं, फागुन ५
च्याम्पियन्स लिग फुटबलमा गत राति अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस बार्सिलोना र फ्रेन्च क्लब पिएसजी भिडे । बार्सिलोनाको घरेलु मैदानमा भएको सो खेलमा बार्सिलोना आफ्नै मैदानमा १–४ ले स्तब्ध भयो । सो हारपछि बार्सिलोना यसपटक पनि अन्तिम १६ बाटै आउट हुने नजिक पुगेको छ । यदि पिएसजीको घरेलु मैदानमा बार्सिलोनाले ०–४ ले नहराए ऊ आउट हुनेछ ।

क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई नमिठो हार खुवाउनेक्रममा पिएसजीका फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले उत्कृष्ट ह्याट्रिक गोल गरे । एमबाप्पेले मेस्सीको टिमलाई ठूलो पिडा दिएको यसपटक मात्रै हैन, सन् २०१८ को रसिया विश्वकपको अन्तिम १६ मा फ्रान्सले मेस्सीको देश अर्जेन्टिनालाई हराएर आउट गराउँदा पनि एमबाप्पे नै भिलेन बनेका थिए ।

यो पुस्ताका सबैभन्दा ठूलो मार्केट भ्यालु भएका र स्टार युवा खेलाडी एमबाप्पे पोर्चुगलका क्रिस्टियानो रोनालडोलाई ठूलो आदर्श मान्छन् । रोनाल्डो जो मेस्सीका खास प्रतिस्पर्धी हुन् । र, विगतमा रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल मड्रिड र अहिले युभेन्टसबाट पनि मेस्सीविरुद्ध खेलिसकेका छन् । र, यी दुवै खेलाडीले लामो करिअर दौरान पटक–पटक एकअर्कालाई निराश बनाएका छन् ।

रोनाल्डोलाई आफ्नो जीवनको सबसे ठूलो आदर्श मान्ने उनै एमबाप्पेले गत राति मेस्सीसहितको बार्सिलोनालाई उसकै मैदानमा हराउनेक्रममा क्याम्प नोउमा रोनाल्डोको झल्को दिलाए । गोलपछि एमबाप्पेले गरेको सेलिब्रेसन अहिले चर्चामा छ । उनले मेस्सी र बार्सिलोनाको मैदानमा रोनाल्डोकै झल्को आउने गरी खुलेरै सेलिब्रेसन गरे, जस्तो सेलिब्रेसन रोनाल्डोले विभिन्न समयमा बार्सिलोनाविरुद्ध क्याम्प नोउमा खेल्नेक्रममा गोल गरेपछि गर्दथे ।

क्याम्प नोउमा मेस्सीको टिमविरुद्ध ३ गोल गर्दा एमबाप्पेले पटक–पटक सेलिब्रेसन गर्नेक्रममा रोनाल्डोको सेलिब्रेसन कपी गरेका थिए । यो उनले जानी–जानी या योजनासाथ गरेका थिए वा यो केवल एक संयोग हो, त्यो उनै जानून् । तर, क्याम्प नोउमा ह्याट्रिक हिरो एमबाप्पेले स्पष्ट रूपमै रोनाल्डेको शैलीको सेलिब्रेसन गरेर आफ्नो टिमको जित र आफ्नो महत्त्वपूर्ण ह्याट्रिकलाई रोमाञ्चक बनाए ।

प्रकाशित मिति ५ फाल्गुन २०७७, बुधबार २२:०५
Loading...