मेस्सीका नाममा बने एकसाथ दुई दुर्लभ कीर्तिमान

काठमाडौं, फागुन १०
स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीका नाममा एकसाथ दुई रेकर्ड बनेका छन् । गत राति ला लिगामा बार्सिलोनाले आफ्नो घरमा क्याडिजविरुद्ध १–१ को बराबरी खेलेर अंक बाँडे पनि मेस्सीका नाममा भने महत्त्वपूर्ण दुई रेकर्ड बनेका हुन् ।

यसै सिजन ला लिगामा बढुवा भएको क्याडिजविरुद्ध आफ्नो मैदानमा बार्सिलोनाले कमजोर प्रदर्शन गर्दा बराबरी खेलेर अंक बाँड्न बाध्य भयो । यसअघि भएको पहिलो लेगमा भने क्याडिजले आफ्नो घरमा पाहुना टोली बार्सिलोनालाई २–१ ले हराएको थियो । तर, दोस्रो लेगमा पनि क्याडिजले बार्सिलोनालाई जित्न दिएन ।

गत राति क्याम्प नोउमा मेस्सीले पहिलो हाफको ३२औं मिनेटमा पेनाल्टीमार्फत् १ गोल गरेका थिए । सो गोल र गत रातिको खेलपछि उनका नाममा एकसाथ दुई रेकर्ड बनेका हुन् । ला लिगाले पनि आफ्नो अफिसियल वेबसाइटमा मेस्सीका नयाँ दुई रेकर्डबारे चर्चा गर्दै बधाई ज्ञापन गरेको छ ।

रेकर्ड १ – ला लिगा इतिहासमै सर्वाधिक खेल

गत राति क्याम्प नोउमा बार्सिलोनाले क्याडिजविरुद्ध खेल्दा मेस्सीका लागि भने कीर्तिमानी खेल थियो । सो खेलमा सहभागी भएसँगै ३४ वर्षका मेस्सी अब ला लिगाको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । गत राति क्याडिजविरुद्धको खेल उनका लागि ५०६औं खेल थियो ।

यसअघि सो रेकर्ड बार्सिलोनाका लिजेन्ड खेलाडी तथा पूर्वकप्तान जाभी हर्नान्डेजका नाममा थियो । जाभीले आफ्नो लामो करिअर दौरान ला लिगामा कूल ५०५ खेल खेलेका थिए । गत रातिको खेलअघिसम्म सो रेकर्ड जाभी र मेस्सीका नाममा संयुक्त रूपमा थियो । तर, अब मेस्सी एक्लैका नाममा सो रेकर्ड रहेको छ ।

रेकर्ड २ – सर्वाधिक ३८ टिमविरुद्ध गोल

गत रातिको खेलमा गोल गरेसँगै मेस्सी अब ला लिगाको इतिहासमै सबैभन्दा धेरै फरक–फरक क्लबविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् । यसै सिजन शीर्ष लिगा उक्लिएको क्याडिज मेस्सीको गोल खाने ३८औं ला लिगा टिम थियो । अब लिगको इतिहासमै सबैभन्दा धेरै क्लबविरुद्ध गोलकर्ता खेलाडीको दुर्लभ रेकर्ड पनि मेस्सीकै नाममा रहनेछ । मेस्सीबाहेक कुनै पनि खेलाडीले यति धेरै टिमविरुद्ध गोल गर्न सकेका छैनन् ।

मेस्सी सन् २००४ देखि लगातार ला लिगा खेलिरहेका छन् । उनी लिगका सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्टकर्ता र सर्वाधिक उपाधि विजेता खेलाडी पनि हुन् । उनीपछि दोस्रो स्थानमा धेरै टोलीविरुद्ध गोल गर्नेमा रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो हुन् । उनले ला लिगामा विभिन्न ३३ टिमविरुद्ध गोल गरेका थिए । तर, मेस्सी ला लिगामा १७ वर्षदेखि लगातार खेलिरहेका छन् भने रोनाल्डोले मात्रै ९ वर्ष खेले ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०९:५४
Loading...