पियानिचको धैर्यको बाँध टुट्दै : प्रशिक्षकमाथि फेरि खनिए

काठमाडौं, फागुन ३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ खेलाडी मिरालेम पियानिचले प्रशिक्षकसँग फेरि चर्को असन्तुष्टि पोखेका छन् । पर्याप्त खेल्न्न नपाएको भन्दै उनले प्रशिक्षकले आफूमाथि देखाएको विभेदपूर्ण व्यवहारको खुलेरै आलोचना गरेका छन् । गत समर सिजनमा इटालियन युभेन्टसबाट ६५ मिलियन युरोमा बार्सिलोना आइपुगेका बोस्निया एन्ड हर्जगोभिनाका ३० वर्षीय प्ले मेकरलाई प्रशिक्षक रोनाल्ड कोम्यानले क्याम्प नोउमा ‘बेन्च खेलाडी’ बनाएका छन् । अर्थात्, दोस्रो विकल्पमा मात्रै खेल्न पाउने ।

जबकि युभेन्टसमा छँदा पियानिच टोलीका लागि नम्बर वान मिडफिल्डर थिए । क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालासँग मिलेर उनी फ्रि किक पालो–पालो हान्थे । मिडफिल्डमा असरदार मानिने उनकै वरिपरि मिडफिल्ड घुम्थ्यो । र, कोचले पनि उनलाई नै ध्यानमा राखेर रणनीति बनाउँथे । यस्ता खेलाडीलाई बार्सिलोना आफैंले हत्ते गरेर भित्र्याए पनि उनलाई मैदानमा समय दिन पनि प्रशिक्षकले निकै कन्जुस्याइँ गरिरहेका छन् । जसका कारण पियानिच निकै रुष्ट बनेका छन् ।

यसअघि पनि पिायनिचले सार्वजनिक रूपमै आफू ‘बार्सिलोनामा बेन्चमा बसेर रमित हेर्न र ताली पिट्न मात्रै नआएको’ भन्दै कडा प्रतिक्रिया दिएका थिए । बार्सिलोनामा डेब्यु सिजनको आधा समय बितिसक्न लाग्दा पनि सम्माजनक समय नपाएपछि पियानिच फेरि प्रशिक्षकमाथि खनिएका हुन् । अघिल्लो दिन ला गिामा बार्सिलोनाले अलाभेसलाई ५–१ ले हराउँदा पियानिचलाई ७२औं मिनेटमा फ्रेन्की डे जोङको स्थानमा मैदान छिराइएको थियो । अहिले बार्सिलोनामा सर्जियो बुस्केट्सलाई पहिलो रोजाइमा राखेर पियानिचलाई दोस्रो विकल्पमा मात्रै राखिएको छ ।

‘मैले किन मैदानमा आशा गरेजति समय खेल्न पाइरहेको छैन, यसको वास्तविक करण मलाई थहा छैन । प्रशिक्षकको निर्णयको म सधैं सम्मान गर्दछु । तर, उहाँले देखाएको व्यवहारप्रति मेरो ठूलो असहमति पनि सँगै छ,’ अलोभससँगको खेलपछि ‘टेलिफुट’सँग कुरा गर्दै पियानिचले कोम्यानप्रति कडा रूपमा प्रस्तुत हुँदै भने, ‘म यो क्लबमा आफ्नो असर र छाप पार्न चाहन्छु । तर, के त्यसका लागि मलाई १५ मिनेट वा १० मिनेट मात्रै हो ?’

पियानिचले आफू बार्सिलोना खास लक्ष्य र सपना लिएको आएको बताउँदै सकेसम्म धेरै खेल्न र टिमलाई सघाउन चाहेको बताए । ‘मैले यसअघि पनि भनेको छु कि, म यहाँ बेन्चमा बसेर खेल हेर्न वा ताली पड्काउन मात्रै आएको होइन । म यहाँ केही खास लक्ष्य र सपना लिएर आएको छु,’ पियानिचले भने, ‘त्यसका लागि त मैले सम्मानजनक समय खेल्न पाउनुपर्छ । १० मिनेट खेलेर वा ट्रेनिङ मात्रै गरेर म कदापि खुसी हुन सक्दिनँ । म नखेली बस्ने खेलाडी होइन । म खेलेर टिमलाई सघाउन चाहन्छु ।’

च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध प्रशिक्षकले आफूलाई विश्वास गर्नेमा पियानिचले आशा व्यक्त गरे । ‘यो एक ठूलो खेल हुनेछ । र, मलाई विश्वास छ कि– यस खेलमा मलाई उहाँ (कोच) ले विश्वास गर्नुहुनेछ । म यस्तै ठूला खेलमा प्रभाव देखाउन चाहन्छु,’ पियानचले भने ।

६५ मिलियन युरोमा बार्सिलोना आइकन पियानिचले कूल २३ खेल खेलिसकेका छन् । र, यी २३ मध्ये १७ खेल उनले बेन्चबाट खेलेका छन् । मात्रै ५ खेल उनले सुरुआती टोलीमा रहेर खेलेका छन् । सुरुआती टोलीमा रहँदा उनलाई चाँडै सब्सिच्युट गरिएको छ । यतिसम्म कि, बार्सिलोना आइकन उनले कुनै पनि खेलमा पूरा समय खेल्न पाएका छैनन् ।

उता, पियानिचको स्थानमा साटफेर डिलमा बार्सिलोनाबाट युभेन्टस पुगेका अर्थुर मेलो भने टोलीमा प्रमुख खेलाडी बनेका छन् । उनलाई प्रशिक्षक आन्ड्रेया पिर्लोले हरेकजसो खेलमा समय दिँदै आएका छन् । र, अर्थुरले त्यहाँ हालसम्म खेलेका २० खेलमध्ये १२ खेलमा सुरुआतबाट खेलेका छन् भने बाँकी खेलमा बेन्चबाट । उनले हालसम्म १ गोल र २ असिस्ट पनि गरेका छन् ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १३:४६
Loading...