च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलअघि रोनाल्डोको यस्तो सन्देश

एजेन्सी, फागुन ३
इटालियन सिरी ए लिग फुटबलमा दुई दिनअघि युभेन्टस नापोलीसँग १–० ले पराजित भयो । नापोलीको घरमा पुगेको युभेन्टसले हार पन्छाउन सकेन । नापोलीले १ मात्रै पेनाल्टी गोलको मदतमा साबिक च्याम्पियनलाई १–० ले निराश बनायो । सो हारपछि युभेन्टसलाई उपाधि होडमा ठूलो धक्का लागेको छ । हाल युभेन्टस २१ खेलपछि ४२ अंक बनाएर चौथो स्थानमा मात्रै छ ।

युभेन्टस हालकै अवस्थामा एक–एक खेल बढी खेलेका लिग लिडर इन्टर मिलानभन्दा ८ र दोस्रो स्थानको एसी मिलानभन्दा ७ अंकले पछि परेको छ । तर, युभेन्टसले एक खेल कम खेलेको छ । नापोलीसँग हुने बाँकी खेल जिते युभेन्टसले इन्टरसँगको दूरी ५ र एसी मिलानसँगको दूरी ४ मा छोट्याउनेछ ।

च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलअघि लिगको एक बलियो टोलीसँग पराजित भएपछि युभेन्टसको प्रदर्शनमा प्रश्न उठेको छ । युभन्टसले अन्तिम १६ मा पोर्चुगिज क्लब पोर्टोसँग बुधबार राति खेल्दै छ । सो खेलअघि नापोलीसँग हारेपछि युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्ना सहकर्मी र समर्थकहरूका नाममा सन्देश दिएका छन् ।

सामाजिक सन्जालमार्फ्त रोनाल्डोले नापोलीसँगको हारले आफूहरूलाई तल नझार्ने बताउँदै शिर उठाएर च्याम्पियन्स लिगका बारेमा सोच्नुपर्ने बताएका छन् । रोनाल्डो आफ्ना समर्थकहरूलाई धैर्य राख्न र सहकर्मीलाई एक हुन अपिल गरेका छन् । रोनाल्डोले ट्वीटरमा लेखेका छन्–

‘यो पराजयले हामीलाई तल झार्दैन । हामी टाउको उठाऊँ । र, च्याम्पियन्स लिगको बारेमा सोच्न थालौं ।’

जारी सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट कूल २६ खेल खेल्दै २३ गोल गरेका छन् । उनले सबैखाले प्रतियोगितामा ५ असिस्ट पनि गरेका छन् । उनी अहिले संयुक्त रूपमा सिरी ए लिगको सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति ३ फाल्गुन २०७७, सोमबार १०:४७
Loading...