१९औं स्थानको टिमसँग युनाइटेड बराबरीमा रोकिँदा म्यानचेस्टर सिटी उपाधितर्फ

काठमाडौं, फागुन २
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । आज आइतबार राति भएको लिगको २४औं साताको खेलमा युनाइटेड १९औं स्थानको वेस्ट ब्रुमण्सँग उसकै घरमा १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भयो । युनाइटेडले अंक गुमाउँदा यसको सोझो फाइदा भने लिग लिडर म्यानचेस्टर सिटीलाई पुगेको छ ।

आफ्नो घरेलु मैदानमा वेस्ट ब्रुमले खेल सुरु भएको ९० सेकेन्डमै गोल गरेर अग्रता लिएको थियो । डाइभिङ हेडिङमा एमबाए डियाग्नेले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि युनाइटेडलाई खेलमा फर्किन पहिलो हाफको अन्तिम समयसम्म पर्खिनु परेको थियो ।

यसपटक खेलको ४४औं मिनेटमा लुके शको पासमा पोर्चुगिज खेलाडी ब्रुनो फर्नान्डेजले शानदार भली प्रहारमा गोल गरेर खेल १–१ बनाए । तर, दोस्रो हाफमा युनाइटेड विजयी गोल गर्न असफल भयो । र, खेल १–१ मा टुंगियो । खेलको ६२औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । तर, रेफ्रीले सुरुमा पेनाल्टी दिए पनि पछि भिएआरमार्फत् हेरेर पेनाल्टी रद्द गरिदिएपछि युनाइटेडले खेलमा अग्रता लिन पाएन ।

अब युनाइटेड यो बराबरीपछि २४ खेलबाट कूल ४६ अंक बनाएर दोस्रो स्थानमा पनि चढेको छ । तर, युनाइटेड अझै एक खेल कम खेलेको लिग लिडर म्यानचेस्टर सिटीभन्दा ७ अंकले पछि परेको छ । यदि सिटीले बाँकी एक खेल पनि जित युनाइटेड १० अंकले पछि पर्नेछ । यता, वेस्ट ब्रुमको खातामा २४ खेलबाट १३ अंक भएको छ ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार २२:०६
Loading...