भ्यालेन्सियाको धुलाइ गर्दै रियल मड्रिड : पहिलो हाफमा २–० ले अघि

काठमाडौं, फागुन २
स्पेनिस ला लिगा फुटबलमा अहिले रियल मड्रिड र भ्यालेन्सियाको खेल जारी छ । रियलको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा रियलले पाहुना टोली भ्यालेन्सियाविरुद्ध २–० को अग्रता लिएको छ । रियलले अल्फ्रेडे डे स्टेफानो रंगशालामा भ्रमणकारी टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

रियलका लागि खेलको १२औं मिनेटमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले दर्शनीय गोल गरेर टिमलाई अग्रता दिलाए । उनले टोनी क्रुसको पासमा बक्स बाहिरबाट लो सटमा शक्तिशाली प्रहारमा गर्दै गोल गरेका थिए । भ्यालेन्सियाका ३ जना डिफेन्डरका माझबाट बेन्जेमाले हानेको बुलेट प्रहारले तल्लो बार च्यापेर सोझै जाली चुमेको थियो ।

त्यसपछि रियलका लागि खेलको ४२औं मिनेटमा टोनी क्रुसले अर्को खतरनाक गोल हाने । बक्स लाइन नजिकैबाट उनले लो सटमा हानेको पावरफुल प्रहारले पोस्टको तल्ल कुनाबाट जाली चुमेको थियो । क्रुसको सटमा भ्यालेन्सियाका डिफेन्डर र गोलकिपर जिल्ल पर्नुशिवाय केही गर्न सकेनन् । सो गोलमा सब्सिच्युट खेलाडी लुकास भासक्वेजले असिस्ट दिएका थिए ।

यता, पहिलो हाफमा पाहुना टोली भ्यालेन्सिया भने निकै फितलो देखियो । उसले एकपटक पनि रियलको पोस्टतर्फ आक्रमण बुन्न सकेन । भयालेन्सियाले न त आक्रमण बुन्न सक्यो, न त एक प्रहार प्रहार नै गर्न सक्यो । पहिलो हाफमा उसको जिरो सट, जिरो अन टार्गेट रह्यो ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार २१:४६
Loading...