‘अलाभेसलाई ५ गोल गरेर बार्सिलोना उफ्रिनु आवश्यक छैन’

एजेन्सी, फागुन २
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले मंगलबार राति फ्रेन्च क्लब पिएसजीसँग खेल्दै छ । सो खेलका लागि बार्सिलोनाले पिएसजीलाई आफ्नो घरमा स्वागत गर्दैछ । सो खेलअघि बार्सिलोनाले गत राति ला लिगामा १६औं स्थानको अलाभेसलाई आफ्नो घरेलु मैदानमा ५–१ ले हरायो । तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध बार्सिलोनाले गोलको वर्षा नै गरेको थियो ।

क्याम्प नोउ रंगशालामा बार्सिलोनालाई जिताउन कप्तान लिओनल मेस्सी र युवा खेलाडी फ्रान्सिस्को ट्रिनकाओले २–२ गोल गर्दा १ गोल जुनियर फिर्पोले गरे । मेस्सीले २ गोल र १ गोलमा असिस्ट गर्दा एन्टोनी ग्रीजम्यानले २ गोलमा असिस्ट गरे । अलाभेसविरुद्धको जित बार्सिलोनाका ला लिगामा लगातारको सातौं जित थियो ।

अलाभेसलाई ५–१ ले हराउनुअघि कोपा डेल रे कपको सेमिफाइनलमा सेभिल्लाले बार्सिलोनालाई २–० को नमिठो हार चखाएको थियो । लिगकै एक बलियो टोलीविरुद्ध बार्सिलोनाले कमजोर प्रदर्शन गरेको थियो । तर, त्यसपछि ला लिगामा कमजोर टोलीविरुद्ध बार्सिलोनाले दादागिरी नै देखायो । र, ५ गोल गर्दै शानदार जित निकाल्यो । च्याम्पियन्स लिगमा पिएसजीजस्तो एक बलियो टोलीविरुद्ध खेल्नुअघिको खेलमा फराकिलो जितले बार्सिलोनालाई पक्कै पनि हौसाएको छ । र, उसले सांकेतिक रूपमा पिएसजीविरुद्ध भिड्न तयार रहेको संकेत दिएको छ ।

प्रशिक्षक भन्छन्– ‘अलाभेसविरुद्ध ५ गोल गर्दा हामी उफ्रिनु वा हावामा उड्नु आवश्यक छैन’

गत रातिको खेलपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने अलाभेसविरुद्धको जितबाट आफूहरू ज्यादा हौसिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । साथै, सो खेलको नतिजाले पिएसजीसँगको खेललाई लिएर ठूलो मनोवैज्ञानिक प्रभाव नपार्ने र खेलाडीहरू भ्रममा पर्नु गलत हुने उनले बताए । अलाभेसजस्तो कमजोर टिमविरुद्ध सहज जित निकाल्नु र च्याम्पियन्स लिगमा एक ठूलो टोलीसँग खेल्नु धेरै ठूलो अन्तर रहेको कोम्यानले बताए । पत्रकारले अलाभेसविरुद्धको जितलाई पिएसजीसँग खेलको तयारीका रूपमा जोडेर प्रश्न गर्दा कोम्यानले भने–

‘कपमा ३ दिनअघि हामी सेभिल्लासँग २–० ले पराजित भयौं । आज लिगमा पुछारतिरको टिमलाई ५ गोल गरेर खेल जित्यौं । यी दुइटै फरक–फरक कुरा हुन् । आजको जित भन्दा सेभिल्लासँगको हार मुख्य कुरा हो । सेभिल्लासँगको हारलाई यो जितले क्षमा गर्दैन ।’

कोम्यानले अघि थपे, ‘म यो जितलाई पिएसजीविरुद्धको खेलका लागि तयारी मान्न सक्दिनँ । यो एक स्तरको खेल थियो, पिएसजीसँग अर्कै स्तरको खेल हुनेछ । अलाभेसविरुद्ध ५ गोल गरेर हामीले उफ्रिनु वा हावामा उड्नु आवश्यक छैन । यी ५ गोलले आगामी खेललाई लिएर ठूलो अर्थ राख्दैन । किनभने, हाम्रो असली परीक्षा त ३ दिनपछि हुनेछ ।’

बार्सिलोनाले सेभिल्लासँगको हार र अलाभेसविरुद्धको जित दुवै भुलेर पिएसजीसँगको खेलको तयारी गर्नुपर्ने बताए । ‘यी ३ दिनमा हामीले सेभिल्लासँगको हार र आजको जित दुवै भुलेर नयाँ ढंगले तयारी गर्नुपर्छ । र, सोच्नुपर्छ । हामी शान्त रहनुपर्छ र एक ठूलो खेलका लागि तयार हुनुपर्दछ,’ कोम्यानले भने ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार १३:५८
Loading...