आज रियल मड्रिड र भ्यालेन्सिया भिड्दै : रियललाई दोस्रोमा चढ्ने मौका

काठमाडौं, फागुन २
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आज सिजनको २३औं राउन्डको खेल खेल्दै छ । यो खेलका लागि उसले १२औं स्थानको भ्यालेन्सियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ९ बजेबाट सुरु हुनेछ ।

हाल रियल टेबलको तेस्रो स्थानमा छ । उसले यो सिजन कूल २२ खेलबाट ४६ अंक जोडेको छ । हालको अवस्थामा रियल समान २२ खेल खेलेको दोस्रो स्थानको बार्सिलोनासँग अंक बराबरी छ भने एक खेल कम खेलेको लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ८ अंकले पछि छ । यता, भ्यालेन्सिया हाल २४ अंक बनाएर १२औं स्थानमा छ ।

रियल मड्रिड आज आफ्नो घरमा उत्रिँदा सिजनको १५औं जितको खोजीमा हुनेछ । यो सिजन रियलले हालसम्म १४ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ४ खेल नै हारेको छ । आज आफ्नो घरमा उत्रिँदा रियलमाथि स्पष्ट जितको दबाब हुनेछ । यसले भ्यालेन्सियालाई हराउन सके बार्सिलोनालाई ३ अंकले पछि छाड्दै दोस्रो स्थानमा उक्लिनेछ । तर, बार्सिलोनासँग एक अतिरिक्त खेल बाँकी नै हुनेछ ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार १०:०३
Loading...