टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले निकाल्यो लगातार ११औं जित

काठमाडौं, फागुन २
इंग्लिस प्रिमियर लिग फुटबलको लिग लिडर म्यानचेस्टर सिटीले लगातार ११औं जित हात पारेको छ । उसले लिगकै एक बलियो टोली टोटनह्याममाथि ३–० को प्रभावशाली जित निकाल्दै विजयी यात्रालाई अझै लम्ब्याएको हो । आफ्नो घरेलु मैदानमा सिटीले पाहुना टोलीमाथि उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो । यससँगै पेप ग्वार्डिओलाको टिम सिटीले लिगका पछिल्ला ११ खेलमा १०० प्रतिशत जित निकाल्न पनि सफल भएको छ ।

सिटीले खेलको ११औं मिनेटमा पेनाल्टी गोलबाट अग्रत लिएको थियो । रोड्रीले पेनाल्टी प्रहार गर्दै टिमलाई अग्रता दिलाएको थिए । उनको प्रहारले टोटनह्यामका गोलकिपर लोरिसको हात छिचोल्दै जाली चुमेको थियो । त्यसपछि सिटीका लागि २ वटै गोल दोस्रो हाफमा इकाए गुन्डोगानले गरे ।

खेलको ५०औं मिनेटमा उनले टिमका लागि दोस्रो गोल गरे । त्यसपछि ६६औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । यसपटक उनले सिटीका गोलकिपर इडर्सनले पोस्ट क्षेत्रबाट दिएको लामो पासमा टोटनह्यामका डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । यससँगै गुन्डोगानले लने लिगका पछिल्ला ९ खेलबाट ९ गोल नै गरेका छन् । यसअघि पनि उनले लिभरपुलविरुद्ध २ गोल गरेका थिए ।

३ गोल खाएपछि पाहुना टोली टोटनह्याम खेलमा फर्किन सकेन । र, खेल सिटीले ३–० ले जित्यो । यससँगै सिटीले यसअघि पहिलो लेगको खेलमा टोटनह्यामको घरमा भोगेको २–० को हारको बदला आफ्नो घरमा ३–० को जितका साथ लिएको छ ।

यो जितपछि सिटी अब स्पष्ट रूपमा उपाधि यात्रामा अघि बढेको छ । उसले २३ खेलबाट कूल ५३ अंक बनाएको छ । ऊ एक खेल बढी खेलेको दोस्रो स्थानको लेस्टर सिटीभन्दा ७ अंकले अघि छ । यता, पराजित टोटनह्याम भने अहिले २३ खेलपछि मात्रै ३६ अंकका साथ आठौं स्थानमा छ ।

प्रकाशित मिति २ फाल्गुन २०७७, आईतवार ०१:१३
Loading...