अर्जेन्टिनामा मेस्सीलाई खेलकुदको सबैभन्दा प्रतिष्ठित अवार्ड

एजेन्सी, फागुन १
अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लिओनल मेस्सीलाई आफ्नो देश अर्जेन्टिनामा खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डले सम्मानित गरिने भएको छ । अर्जेन्टिनामा हरेक दशक अर्थात् १०–१० वर्षमा एक सर्वोत्कृष्ट खेलाडीलाई दिइने अवार्ड यसपटक मेस्सीलाई दिइने भएको हो । हाल उमेरले ३४ वर्ष पुगेका मेस्सी प्रतिष्ठित ‘कोनेक्स अवार्ड’बाट सम्मानित हुने भएका हुन् । अर्जेन्टिनामा पछिल्लो दशकका लागि समग्र खेलकुद क्षेत्रबाट उत्कृष्ट खेलाडीको रूपमा मेस्सीलाई यो अवार्ड प्रदान गर्ने निर्णय भएको हो ।

अर्जेन्टिनामा यो अवार्डलाई खेलकुद क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड हरेक दशक अर्थात् १०–१० वर्षमा दशककै सर्वोत्कृष्ट खेलाडीलाई दिइन्छ । यो अवार्डको पूरा नाम ‘कोनेक्स फाउन्डेसन्स अवार्ड’ हो । तर, यसलाई ‘कोनेक्स अवार्ड’का नामले चिनिन्छ ।

यसअघि दिवंगत लिजेन्ड खेलाडी डिएगो म्याराडोनालाई पनि यो अवार्डले सम्मानित गरिएको थियो । उनले यो अवार्ड सन् १९९० मा जितेका थिए । यो अवार्ड खेलकुद विधामा सन् १९८०, १९९०, २०००, २०१० मा पनि वितरण गरिएको थियो । सो फाउन्डेसन्सले एकै नामको अवार्ड देशका विभिन्न क्षेत्र जस्तैः शिक्षा, राजनीति, विज्ञान, अर्थशास्त्र, समाजशास्त्र, संगीत आदि क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिलाई दिन्छ । हरेक १० वर्षमा घोषणा हुने यो अवार्ड विभिन्न १० विधिामा दिइँदै आएको छ ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार २२:३१
Loading...