८ मिनेटमा ३ गोल ठोक्दै लेस्टरले लिभरपुललाई चखायो नाटकीय हार

काठमाडौं, फागुन १
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता लिभरपुलले अर्को खराब हार व्यहोरेको छ । आज शनिबार भएको खेलमा लिभरपुललाई लेस्टर सिटीले पछि परेको अवस्था उल्टाएर नाटकीय रूपमा खेल जित्यो । आफ्नो घरेलु मैदानमा पछि परेको अवस्थामा लेस्टरले रोमाञ्चक तरिकाले मात्रै ८ मिनेटको बीचमा ३ गोल ठोक्दै नाटकीय जित निकाल्दा लिभरपुलले भने निकै महँगो हार भोग्नु परेको छ ।

आफ्नो घरेलु मैदान किङ पावर स्डेडियममा भएको खेलमा पाहुना टोली लिभरपुलले खेलको ६७औं मिनेटमा अग्रता लिएको थियो । रोवर्ट फर्मिन्होको सुन्दर पासमा मोहमद सालाहले दर्शनीय गोल गर्दै घरेलु टोलीविरुद्ध आफ्नो टिमलाई अग्रता दिलाएका थिए । सोही गोलको अग्रता लिएर लिभरपुल जिततर्फ अघि बढेको थियो ।

तर, खेलको ७८औं मिनेटदेखि खेलमा नाटकीय मोड आयो । लिभरपुलको रक्षापंक्तितले लगातार गल्ती गर्दा लेस्टरले मात्रै ८ मिनेटको बीचमा ३ गोल ठोक्यो । यी ३ मध्ये २ गोल लिभरपुलका डिफेन्डर र गोलकिपरका आफ्नै गल्तीका कारण भएका थिए । खेलको ७८औं मिनेटमा लेस्टरका लागि जेम्स म्याडिसनले गोल गरेर टिमलाई खेलमा फर्काएका थिए । सो गोललाई भिएआरले मान्यता दिएको थियो ।

त्यसपछिका २ गोल भने लिभरपुलले आफ्नै गल्तीले खायो । ८१औं मिनेटमा जिमी भर्डीले खाली पोस्टमा गोल गरे । लामो दूरीबाट आएको हाई पास क्लियर गर्न गोलकिपर एलिसन बेकर अघि बढेका थिए । सोहीक्रममा एलिसन र डिफेन्डर बल क्लियर गर्न खोज्दा आपसमा ठोक्किएर लडे । र, बली अघि बढ्यो । त्यसैबेला नजिकै दौड बनाइरहेका भर्डी अघि बढ्दै बल लिए पोस्टतर्फ लागे । र, खाली पोस्टमा बललाई जाली चुमाए ।

त्यसपछि ८५औं मिनेटमा लिभरपुलको रक्षापंक्तिले बक्समा गल्ती गर्दा लेस्टरका हार्भे बार्नेसले बललाई कडा सटमा जाली चुमाएपछि खेल लेस्टरले ३–१ ले जित्यो । यससँगै लिभरपुल लगातार दोस्रो खेलमा र पछिल्ला ५ मध्ये ३ खेलमा हारेको छ । यसअघि ऊ म्यानचेस्टर सिटीसँग आफ्नै मैदानमा १–४ ले हारको थियो । यो हारसँगै लिभरपुल अब उपाधि होडबाट झनै टाढा पुगेको छ ।

यो जितपछि लेस्टर २४ खेलबाट ४६ अंक बनाएर लिगको दोस्रो स्थानमा चढेको छ । पराजित लिभरपुल भने २४ खेलपछि मात्रै ४० अंकसहित चौथो स्थानमा सीमित भएको छ । अन्य टोलीको खेलपछि लिभरपुलले टप–४ गुमाउनेछ ।

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार २०:२७
Loading...