च्याम्पियन्स लिगमा अन्तिम १६ भिडन्त : बार्सिलोनालाई पिएसजीको यस्तो सन्देश

एजेन्सी, फागुन १
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजन अन्तिम १६ मा एक बहुप्रतीक्षित खेल हुँदैछ, जहाँ फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोना भिड्नेछन् । यो खेललाई अन्तिम १६ राउन्डकै सबैभन्दा ठूलो खेल मानिएको छ । सो खेलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा आगामी मंगलबार राति हुँदैछ । पिएसजी गत सिजनको फाइनालिस्ट टोली हो भने बार्सिलोना सन् २०१५ पछि फाइनलसम्म पुग्न सकेको छैन ।

सो खेलअघि पिएसजीका मिडफिल्डर पाब्लो सराबियाले आफूहरू बार्सिलोनासँगको खेललाई लिएर उत्साहित रहेको बताएका छन् । स्पेनिस खेलाडी उनले ‘मार्का’ सँग कुरा गर्दै पिएसजी स्पेनिस महारथिलाई हराएर क्वार्टरफाइनल पुग्ने दाबी गरेका छन् । ‘यो एक ठूलो खेल हुनेछ । र, यसमाथि विश्वको नजर छ । हामी पनि यो खेललाई लिएर निकै उत्साहित छौं । किनभने, हामी विश्वै एक उत्कृष्ट टिमविरुद्ध खेल्न गइरहेका छौं,’ सराबियाले भनेका छन् ।

सराबियाले बार्सिलोनाविरुद्ध खेल्न पिएसजीलाई सजिलो नहुने बताएका छन् । तर, उनले घुमाउरो पारामा बार्सिलोनालाई अन्तिम १६ बाट अघि बढ्न नदिने सन्देश पनि दिएका छन् । ‘बार्सिलोना विश्वकै एक उत्कृष्ट टिम हो, जोसँग लियो मेस्सीजस्ता खेलाडी छन् । उनीहरूसँग एक उत्कृष्ट टिम छ,’ सराबियाले भनेका छन्, ‘तर, हामी उनीहरूलाई चुनौती दिन तयार छौं । किनभने, हामीसँग पनि एक उत्कृष्ट र अनुभवी टिम छ । हामीसँग पनि विश्वकै उत्कृष्ट खेलाडीहरू छन् ।’

सराबियाले पिएसजी बार्सिलोनाविरुद्ध सन् २०१७ को ६–१ को कथा दोहोरिन नदिन सचेत रहेको पनि बताए । ‘२०१७ मा बार्सिलोना र पिएसजीबीच जे भयो, त्यो यस टिमले भुलेको छैन । त्यो एक दुर्घटना थियो । तर, अहिले त्यही अवस्था छैन । दुवै टिममा ठूलो फेरबदल छ, अवस्था बदलिएको छ,’ सराबियाले भने, ‘मलाई विश्वास छ, यसपटक बार्सिलोनाविरुद्ध खेल्दा पिएसजीको समय हुनेछ । हामी उनीहरूलाई हराएर अर्को चरण प्रवेश गर्नेछौं । हामी सबै हिसाबले तयार छौं ।’

प्रकाशित मिति १ फाल्गुन २०७७, शनिबार १७:४५
Loading...