‘चोट, ओ मेरो साथी’ : बार्सिलोनासँगको खेलका मुखमा नेइमार घाइते

काठमाडौं, माघ २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को महत्त्वपूर्ण खेलका मुखमा फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । गत राति फ्रेन्च कपको अन्तिम ६४ को खेलमा कानविरुद्ध खेल्नेक्रममा नेइमारले चोट बोकेका हुन् । उनको चोटले पिएसजीलाई आगामी खेललाई लिएर समस्या बढ्ने पक्का छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजीले ६ दिनपछि स्पेनिस क्लब बार्सिलोनासँग पहिलो लेगको खेल खेल्दै छ । तर, चोट बोकेपछि नेइमारले पूर्वक्लबविरुद्ध हुने सो खेल गुमाउने करिब पक्का भएको छ । सो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

गत राति नेइमार खेलको ५४औं मिनेटमा कानका सेन्टर डिफेन्डर एलेक्सिस बेकाको खराब ट्याकलमा परेका थिए । ह्याभी ट्याकलमा परेका नेइमारले खेल्न सकेनन् । र, ६०औं मिनेटमा मैदान छाडे । उनको स्थानमा केलियन एमबाप्पेलाई मैदान छिराइएको थियो । उनको दाया घुँडामा चोट परेको छ । ट्याकलमा परेपछि पनि नेइमारले केहीबेर खेल्न प्रयास गरेका थिए । तर, नसकेपछि उनले मैदान छाडे ।

खेलपछि बोल्दै पिएसजीका प्रशिक्षक मोउरिसियो पोचेटिनोेले नेइमारको चोटले टोलीलाई अभाव हुने बताए । तर, नेइमारको चोट कस्तो हो भनेर चेकजाँच पछि मात्रै थाहा हुने उनले बताए । ‘अहिले नै उनको चोटबारे म भन्न सक्दिनँ । उनले खेल्न कठिन भएपछि मैदान छाडेका हुन् । मेडिकल टिमले चेकजाँच गरेपछि मात्रै अवस्था के हो भनेर भन्न सकिन्छ । यदि च्याम्पियन्स लिगको आगामी खेलमा उनी हामीसँग भएनन् भने टिमलाई उनको अभाव खड्किनेछ,’ पोचेटिनोले भने ।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ११:०४
Loading...