फ्रेन्च कप : दोस्रो डिभिजनको टिममाथि पिएसजीको साँघुरो जित

काठमाडौं, माघ २९
फ्रेन्च कप फुटबलमा पिएसजीले साँघुरो जित निकालेको छ । गत राति भएको अन्तिम ६४ को खेलमा पिएसजीले दोस्रो डिभिजनको टिम कानमाथि ०–१ को साँघुरो जित निकाल्न पनि ठूलै संघर्ष गर्नुपरेको थियो । टोलीका प्रमुख खेलाडीसहित उत्रिए पनि पिएसजीले मात्रै १ गोल गरेर अर्को चरणमा स्थान बनायो ।

नेइमार, केलियन एमबाप्पे, मोइस किनसहितका खेलाडी कानविरुद्ध उत्रिएका थिए । तुलनात्मक रूपमा कमजोर टिमविरुद्ध ठूलै संघर्ष गर्नु परेको पिएसजीका लागि खेलको ४९औं मिनेटमा इटालियन युवा खेलाडी मोइसे किनले गोल गरेका थिए । अन्ततः पिएसजीका लागि सोही गोल नै अर्को चरण पुग्न निर्णायक भयो । खेलमा पिएसजीका अन्य २ गोलले भने मान्यता पाएनन् ।

पिएसजीका प्रमुख खेलाडी नेइमारले यस खेलमा चोट बोके । उनको चोटको अवस्थाबारे क्लबले खुलाइसकेको छैन । च्याम्पियन्स लिगमा अन्तिम १६ को खेल आउन एक साता पनि बाँकी नरहेका बेला नेइमारले चोट बोकेपछि पिएसजीलाई समस्या पर्ने भएको छ ।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०९:५२
Loading...