९ गोलको वर्षा भएको खेलमा एभर्टनले टोटनह्यामलाई एफए कपबाट आउट गरायो

काठमाडौं, माघ २९
इंग्लिस नकआउट क्लब फुटबल एफए कपबाट टोटनह्याम आउट भएको छ । गत राति भएको पाँचौं चरणको खेलमा टोटनह्यामलाई प्रिमियर लिगकै अर्को बलियो टोली एभर्टनले नाटकीय रूपमा ५–४ को जित निकाल्दै ह्यारी केनको टिमलाई उपाधि होडबाट आउट गराएको हो । दुवै पक्षबाट गरी ९ गोलको वर्षा भएको खेलमा पटक–पटक उतारचढावको स्थिति देखिँदा खेल १२० मिनेटसम्म चलेको थियो ।

निर्धारित ९० मिनेटमा ४–४ को बराबरीमा सकिएको खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो, जहाँ घरेलु टोली एटर्भनले बाजी मार्न सफल भयो । गुडिसन पार्कमा भएको खेलमा एभर्टनका लागि ब्राजिलियन युवा स्टार रिचार्लिसनले २ गोल गर्दा बाँकी ३ गोल ३ जना खेलाडीले गरे । यता, टोटनह्याम भने आफ्ना प्रमुख खेलाडी केनलाई बेन्चमा राखेर मैदान उत्रिएको थियो । केन दोस्रो हाफमा मात्रै मैदान छिरेका थिए ।

पाहुना टोली टोटनह्यामले खेलको तेस्रो मिनेटमै ड्याभिन्सन सान्चेजको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ३६औं मिनेटमा एभर्टनका लागि डोमिनिक काल्भर्ट लेविनले गोल गरेर खेल १–१ बनाए । त्यसको २ मिनेटमै रिचार्लिसनले गोल गरे । दोस्रो गोल गरेको ५ मिनेटमै एभर्टनले पेनाल्टी पायो, जसमा गिल्फी सिगुर्सनले गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा टोटनह्यमाका लागि इरिक लामेलाले गोल गरेपछि पहिलो हाफमा ३–२ मा सकियो ।

पहिलो हाफमै ५ गोल भएको खेलमा दोस्रो हाफमा पनि लगातार गोल भए । दोस्रो हाफमा टोटनह्यामले पहिला खेल बराबरी बनायो । ५७औं मिनेटमा ड्याभिन्सन सान्चेजले नै गोल गरेर खेल ३–३ को बराबरी अवस्थामा ल्याए । तर, ६८औं मिनेटमा युवा खेलाडी रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभर्टन ४–३ ले अघि भयो ।

त्यसपछि बेन्चबाट मैदान छिरेका केनले खलेको ८३औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । उनले हेडिङमार्फत् गोल गरेर खेल ४–४ को अवस्थामा पुराए । त्यसपछि निर्धारित समयमा खेलमा हारजित नभएपछि खेलमा ३० मिनेटको समय थपियो । जहाँ एभटर्नले बाजी मार्न सफल भयो । ९० मिनेटपछि थपिएको सातौं मिनेटमा एभर्टनका लागि बर्नान्डले गोल गरेर खेल ५–४ बनाए । त्यसपछि बाँकी समयमा टोटनह्याम खेलमा फर्किन सकेन । र, एभर्टनले खेल ५–४ ले जित्यो ।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०९:२८
Loading...