कोपा डेल रे सेमिफाइनल : सेभिल्लाले बार्सिलोनालाई चखायो नमिठो हार

काठमाडौं, माघ २९
स्पेनिस नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रे कपमा सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा सेभिल्लाले प्रमुख उपाधि दाबेदार मानिएको बार्सिलोनालाई नमिठो हारको सिकार बनाएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको पहिलो लेगको खेलमा घरेलु टोली सेभिल्लाले पाहुना टोली बार्सिलोनालाई २–० को एकपक्षीय जितले स्तब्ध बनायो । यो जितसँगै सेभिल्लाको फाइनल पुग्ने बाटो बलियो भएको छ भने बार्सिलोनाको यात्रा पनि धरापमा परेको छ ।

आफ्नो घरेलु मैदानमा सेभिल्लाले खेलभरि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले पहिलो हाफमा बार्सिलोनाले पूर्ण रूपमा दबाब राख्दै १ गोल गरेको थियो । खेलको २५औं मिनेटमा युवा डिफेन्डर जुलेस कोउन्डेले दर्शनीय गोल गरेर सेभिल्लालाई अग्रता दिलाए ।

फ्रान्सका युवा खेलाडी उनले बार्सिलोनाको बक्सभित्र ४ जना डिफेन्डरबीच उत्कृष्ट ड्रिब्लिङ कला देखाउँदै शक्तिशाली लो सटमा बललाई जाली चुमाएका थिए । उनको कडा प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले रोक्ने मौका नै पाएनन् ।

पहिलो हाफमा बार्सिलोनाभन्दा बढी सेभिल्लाले बढी बल आफ्नो पकडमा राखेर खेलेको थियो । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले सुरुआती ५ मिनेटमै गोलको अवसर पाए पनि सेभिल्लाका गोलकिपरले मेस्सीको प्रयास असफल पारिदिएका थिए ।

पहिलो हाफमा गोल खाएर पछि परेको बार्सिलोनाले लगातार खेलमा फर्किन संघर्ष गरे पनि सकेन । उसले खेलभरिमा जम्मा १३ पटक आक्रमण बुन्दा मात्रै ४ प्रहार सही दिशामा हानेको थियो । बार्सिलोना त्यत्तिबेला स्तब्ध भयो, जब खेलको ८५औं मिनेटमा सेभिल्लाका लागि इभान राकिटिकले शानदार सटमा गोल गरे । र, सेभिल्लालाई २–० को जित दिलाए ।

गत समर विन्डोमा मात्रै बार्सिलोना छाडेर सेभिल्ला पुगेका उनले कोपाको सेमिफाइनलमा पूर्वक्लबविरुद्ध शानदार गोल गरे । तर, उनले गोलको सेलिब्रेसन भने गरेनन् । बार्सिलोनाबाट सेभिल्ला फर्किएपछि उनले बार्सिलोनाविरुद्ध दोस्रो खेल खेल्नेक्रममा १ गोल गरेका हुन् ।

पहिलो लेग २–० ले जितेपछि सेभिल्लाल कोपाको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब दोस्रो लेगको खेलमा बार्सिलोनाले नतिजा उल्टाउन सकेन भने सेभिल्ला फाइनल प्रवेश गर्नेछ । र, बार्सिलोना आउट हुनेछ । आफ्नो घरमा दोस्रो लेग खेल्दा बार्सिलोनालाई कम्तीमा ३–० को जित चाहिन्छ । यदि सेभिल्लाले क्याम्प नोउमा १ गोल मात्रै गरे बार्सिलोनाले ४ गोल गर्नुपर्ने हुन्छ । दोस्रो लेगको खेल आगामी मार्च ३ ताखिमा हुनेछ ।

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०३:३६
Loading...