कोपा इटालिया : फाइनल पुग्न आज एटलान्टा र नापोलीको निर्णायक भिडन्त हुँदै

काठाडौं, माघ २८
इटालीको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियामा आज दोस्रो सेमिफाइनल खेलमा निर्णायक खेल हुँदैछ । दोस्रो लेगको खेलमा सिरी ए लिगका दुई बलिया टोलीहरू एटलान्टा र नापोली आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । येल एटालान्टाको मैदानमा हुनेछ ।

यसअघि नापोलीको घरमा भएको पहिलो लेगको खेल गोलरहित ०–० मा सकिएको थियो । तसर्थ, आज फाइनल प्रवेशका लागि दोस्रो लेगको खेल नै निर्णायक हुनेछ । आज आफ्नो घरमा उत्रिँदा एटलान्टा ठूलो दबाबमा हुनेछ । गत राति पहिलो सेमिफाइनलबाट युभेन्टस इन्टर मिलानलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

आज आफ्नो घरमा एटलान्टालाई पेनाल्टी सुटआउटमा पुग्नुअघि नै कम्तीमा १–० को स्पष्ट जित आवश्यक पर्छ । तर, पाहुना टोली नापोलीलाई भने १–१ को बराबरी खेले पनि फाइनल पुग्न काफी हुन्छ । एटलान्टाको घरमा गोल गरेर खेल बराबरी गरे पनि अवे गोलका आधारमा नापोली फाइनल प्रवेश गर्नेछ । तसर्थ आज एटलान्टा गोल नखाई नतिजा निकाल्ने दाउमा हुनेछ भने नापोली सकेसम्म चाँडो १ गोल गरेर खेलमा अग्रता लिने रणनीतिसाथ खेल्नेछ ।

पहिलो गोल गरेपछि पछि खेल बराबरीमा टुंगिए पनि नापोलीका लागि फाइनल जान सजिलो हुनेछ । यदि निर्धारित समयमा खेलमा हार–जित नभए पेनाल्टी सुटआउटबा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । आजको खेलको विजेताले उपाधिका लागि युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २८ माघ २०७७, बुधबार १२:१३
Loading...