खेलाडी भित्र्याउन ‘पैसाको खोलो बगाउने’ क्लब बन्यो सिटी : कसले कति खर्चिए ?

एजेन्सी, माघ २७
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन क्लब फुटबलमा नयाँ खेलाडी भित्र्याउनका लागि सबैभन्दा धेरै पैसाको खोलो बगाउने क्लब बनेको छ । एक रिपोर्टअनुसार पछिल्ला १० ट्रान्सफर विन्डोमा सिटीले खेलाडी अनुबन्धका लागि युरोपियन टप–५ लिगमा सबैभन्दा धेरै पैसा खर्चेको देखिएको छ । ‘सिआईइएस फुटबल अब्जरभेटरी’ ले प्रकाशित गरेको ट्रान्फरर बजारको रिपोर्टअनुसार सिटीले पछिल्ला १० ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्ध गर्न कूल ६३१ मिलियन युरो खर्च गरेको छ, जुन युरोपका कुनै पनि क्लबको भन्दा बढी हो ।

खेलाडी अनुबन्धमा यति ठूलो बजेट खर्च गरे पनि सिटीले आजसम्म युरोपियन च्याम्पियन्स लिग भने जित्न सकेको छैन । प्रशिक्षक पेप ग्वार्डिओला नयाँ प्रशिक्षक बनेपछि सिटीले खेलाडीका लागि अझै ठूलो बजेट खर्चेको छ । तर, त्यसअनुसार क्लबले ठूला उपाधि जित्न भने सकेको छैन । च्याम्पियन्स लिग जित्नु त परकै कुरा, सिटी च्याम्पियन्स लिगको फाइनलसम्म पनि पुग्न सकेको छैन ।

युरोपमा खेलाडीका लागि धेरै पैसा खर्च गर्नेमा सिटीपछि दोस्रो क्लब प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेड छ । उसले सोही अवधिमा कूल ५८६ मिलियन युरो खर्च गरेको छ । त्यसपछि स्पेनिस बार्सिलोना छ । उसले पछिल्ला १० सरुवा बजारमा कूल ४७१ मिलियन युरो खर्च गरेको छ । यो सूचीको टप–१० मा स्पेनिस रियल मड्रिड, जर्मन बार्यन म्युनिख र इटालियन युभेन्टस भने छैनन् ।

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार २१:२५
Loading...