लेवान्डोस्की चम्किँदा बार्यन फिफा क्लब वर्ल्डकपको फाइनलमा

काठमाडौं, माघ २७
स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की चम्किँदा जर्मन क्लब बार्यन म्युनिख फिफा क्लब विश्वकपको फाइनल प्रवेश गरेको छ । गत राति भएको सेमिफाइनल खेलमा बार्यनले इजिप्टको क्लब अल अहलीलाई २–० ले हराउँदै उपाधिनजिक पुगेको हो । टिमलाई फाइनलसम्म लैजान २ वटै गोल लेवान्डोस्कीले गरे ।

कतारको अहमेद विन अली स्टेडियममा भएको सेमिफाइनल खेलमा युरोपको च्याम्पियनले साउथ अफ्रिकाको च्याम्पियनलाई पराजित गरेको हो । बार्यनका लागि खेलको १७औं मिनेटमा लेवान्डोस्कीले सर्जी गेनाब्रीको पासमा सिक्स यार्डभित्रबाट सहजै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि बार्यनलाई दोस्रो गोल गर्न खेलको अन्तिम समयसम्म नै पखिर्नु परेको थियो । ८५औं मिनेटमा लेवान्डासकीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बार्यनले २–० ले जित्यो । लेवान्डोस्कीको दोस्रो गोलमा लिरोए सानेले असिस्ट गरेका थिए ।

फाइनल प्रवेश गरेको बार्यनले अब उपाधिका लागि मेक्सिकन क्लब टिग्रेससँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल अब फेब्रुअरी ११ तारिखमा हुनेछ । टिग्रेसले सेमिफाइनलमा ब्राजिलको क्लब पाल्मेरियसलाई १–० ले हराएर फाइनल प्रवेश गरेको हो

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार १०:३४
Loading...