स्वारेजको २ गोलले पुगेन जित्न : सेल्टाले एथ्लेटिकोलाई घरमै रोक्यो

काठमाडौं, माघ २७
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गत राति भएको लिगको २०औं साताको खेलमा पाहुना टोली सेल्टा भिगोले मड्रिड सहरको टोलीलाई उसकै घरेलु मैदानमा २–२ को बराबरीमा रोक्दै स्पष्ट जितबाट वञ्चित गरिदियो । घरेलु टोली एथ्लेटिकोका लागि स्टार फरवार्ड लुइस स्वारेजले टिम पछि परेका बेला २ गोल गरे पनि त्यो टिमलाई जिताउन भने पर्याप्त भएन ।

पछि परेको अवस्थामा २ गोल गरेर घरेलु टोली एथ्लेटिको जितको नजिक पुगेका बेला सेल्टाले ८९औं मिनेटमा गोल गरेपछि एथ्लेटिको अंक बाँड्न बाध्य भयो । यससँगै एथ्लेटिकोले यो सिजन यो चौथोपटक अंक गुमाएको छ । यो खेलको बराबरी उसका लागि सिजनको तेस्रो बराबरी हो । उसले हालसम्म लिगमा मात्रै १ खेल हारेको छ ।

एथ्लेटिकोको मैदानमा सेल्टाले खेलको १३औं मिनेटमा अग्रता लिएको थियो । क्रस पासमा सान्टी मिनाले डाइभिङ हेडिङमार्फत् उत्कृष्ट गोल गरेका थिए । तर, पहिलो हाफको अन्तिम ४५औं मिनेटमा एथ्लेटिकोका लागि स्वारेजले क्रस पासमा गोल गरेर खेल १–१ बनाए । त्यसपछि दोस्रो हाफको सुरुआतमै एथ्लेटिकोले खेलमा अग्रता बनायो । ५०औं मिनेटमा स्वारेजले नै क्रस पासमा गोल गरेर खेल २–१ बनाए । सोही अग्रता बचाएर एथ्लेटिको जित नजिक पुगेको थियो । तर, ८९औं मिनेटमा सेल्टाका फेरेरियाले क्रस पासमा गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।

अब बराबरीसँगै एथ्लेटिकोले आफ्नै घरमा २ अंक गुमाएको छ । जितेको भए उसले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने थियो । तर, अब अग्रता ८ मै सीमित भएको छ । यद्यपि, एथ्लेटिकोले अझै थप एक खेल खेल्नै बाँकी छ । अहिले एथ्लेटिको २० खेलपछि ५१ अंकसहित शीर्ष स्थानमा छ भने समान २१–२१ खेलपछि समान ४३–४३ अंक भएका बार्सिलोना र रियल मड्रिड दोस्रो र तेस्रो स्थानमा छन् । यता, सेल्टा २२ खेलपछि २६ अंक बनाएर १०औं स्थानमा छ ।

प्रकाशित मिति २७ माघ २०७७, मंगलवार ०८:४६
Loading...