१५औं स्थानको क्याडिजसँग बार्सिलोना आफ्नै घरमा रोकियो : उपाधि होड झन् टाढा !

काठमाडौं, फागुन ९
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा तेस्रो स्थानको बार्सिलोना लिगको १५औं स्थानको क्याडिजसँग बराबरीमा रोकिएको छ । आज आइतबार राति भएको खेलमा क्याडिजले बार्सिलोनालाई लिगको २३औं साताको खेलमा उसकै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनका साथ १–१ को बराबरीमा रोकेको हो । यो बराबरीसँगै बार्सिलोनाले उपाधि होडमा ज्यादै महत्त्वपूर्ण रहेको २ अंक गुमाएको छ ।

यसअघि सिजनको पहिलो लेगको खेलमा क्याडिजले आफ्नो घरमा बार्सिलोनालाई २–१ ले हराएको थियो । त्यसपछि आज भएको सिजनको दोस्रो लेगमा क्याडिजले बार्सिलोनालाई उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकेर अर्को झट्का दियो । स्मरण रहोस्, क्याडिज यसै सिजन मात्रै ला लिगामा उक्लिएको नयाँ टोली हो ।

बार्सिलोनाले क्याम्प नोउ रंगशालामा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । पहिलो हाफमा बार्सिलोनाले २ गोल गरे पनि ती गोललाई अफसाइड करार दिइएको थियो । कप्तान लिओनल मेस्सीले ३२औं मिनेटमा पेनाल्टीमार्फत् हलुका टचमै गोल गरेका थिए । क्याडिजका डिफेन्डरले बक्सको लाइनमा बार्सिलोनाका पेड्रीलाई दुई तर्फबाट च्यापेर लडाएपछि रेफ्रीले सोझै बार्सिलोनालाई पेनाल्टी दिएका थिए, जसमा मेस्सीले सहजै गोल गरे ।

बार्सिलोना मेस्सीको त्यही १ गोलको अग्रता जोगाएर जितको बहुत नजिक पुगेको थियो । तर, खेलको ८९औं मिनेटमा बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटले क्याडिजका खेलाडीमाथि खराब ट्याकल गर्दा रेफ्रीले घरेलु टोलीविरुद्ध सोझै पेनाल्टी दिए, जसमा एलेक्स फर्नान्डेजले सहजै गोल गरेपछि खेल १–१ मा सकियो ।

यो बराबरीपछि बार्सिलोनाले आफ्नै घरमा तुलनात्मक कमजोर टिमसँग अंक गुमाएको छ । अब बार्सिलोनाको खातामा २३ खेलपछि कूल ४७ अंक भएको छ । २४ खेल खेलेको रियल मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा छ । २३ खेल खेलेको एथ्लेटिको मड्रिड ५५ अंकसहित पहिलो स्थानमा छ ।

गत राति एथ्लेटिको आफ्नै घरमा लेभान्टेसँग ०–२ ले पराजित हुँदा त्यसको फाइदा रियल र एथ्लेटिको दुवैलाई उठाउने अवसर थियो । जसमा रियलले भाल्लाडोलिडमाथि ०–१ को जित निकाले पराजित एथ्लेटिकोसँग अंक दूरी छोट्याएर ३ मा ल्यायो । तर, बार्सिलोना आफ्नै घरमा बराबरीमा रोकिँदा लिग लिडरसँग अंक दूरी घटाउने मौका खेर फाल्यो । ताजा अवस्थामा बार्सिलोना लिग लिडर एथ्लेटिकोसँग समान खेलपछि ८ अंकले पछि छ भने एक खेल बढी खेलेको रियलसँग ५ अंकले पछि छ ।

प्रकाशित मिति ९ फाल्गुन २०७७, आईतवार ०८:३०
Loading...