‘रेफ्रीको आलोचना गर्ने’ पिकेलाई जिदानले दिए मुखभरिको जवाफ

एजेन्सी, माघ २६
‘ला लिगाका ८० प्रतिशत रेफ्री रियल मड्रिडको पक्षपाती’ रहेको भनेर आलोचना गर्ने बार्सिलोनाका डिफेन्डर जेर्राड पिकेलाई रियलका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले मुखभरिको जवाफ दिएका छन् । दुई दिनअघि पिकेले एक अन्तर्वार्तामा कुरा गर्दै लिगका सबैजसो रेफ्रीले खेल दौरान रियललाई जिताउन सघाउने गरी निर्णय लिने गरेको आरोप लागएका थिए । जसका कारण लिगको उपाधि प्रतिस्पर्धा प्रभावित हुने पिकेको भनाइ थियो ।

तर, जिदानले पिकेको सो भनाइलाई ‘रुन्चे’ चरित्र भन्दै कडा प्रतिवाद गरेका छन् । रियलले जित्दा रेफ्रीले सघाएको देख्नेले रियल हार्दा रेफ्री नदेख्ने भन्दै जिदानले आक्रोशपूर्ण जवाफ दिए । भोलि मंगलबार ला लिगामा रियलले आफ्नो घरमा गेटाफेसँग खेल्दै छ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनेक्रममा उनलाई पत्रकारले पिकेको आरोपबारे जवाफ मागेका थिए ।

‘म यसको उत्तर दिँदा–दिँदा दिक्क भइसकें । कोही खेलाडीले खेलको पद्धति र नियममाथि किन प्रश्न उठाउँछ ? अनि उनीहरूले यसो भन्दै फेरि किन ला लिगा खेलिरहेका छन् ?,’ जिदानले भने, ‘मलाई यस्ता वाहियात कुरा अबदेखि नसोध्नुहोस् ।’

जिदानले थप आक्रामक हुँदै रेफ्रीले रियल मड्रिडलाई सघाउँछन् भन्ने लाग्छ भने बार्सिलोनालाई ला लिगामा आफ्नै मान्छेलाई रेफ्री प्रयोग गर्न भन्दै सुझाव पनि दिए । ‘यदि रेफ्रीले हामीलाई सघाउँछन् भन्ने लाग्छ भने बार्सिलोनाले ला लिगामा आफ्नै कर्मचारी रेफ्री राखोस्, हामी स्वीकार्न तयार छौं,’ जिदानले भने ।

प्रकाशित मिति २६ माघ २०७७, सोमबार १९:५४
Loading...