मेस्सीको प्रदर्शनबाट कोम्यान मक्ख : यसरी गरे प्रशंसा

एजेन्सी, माघ २६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सीको दिल खोलेर प्रशंसा गरेका छन् । गत राति ला लिगामा बार्सिलोनाले अवे मैदानमा रियल बेटिसविरुद्ध २–३ को पुनरागमन जित निकाल्नेक्रममा बेन्चबाट मैदान छिरेर पनि मेस्सीले उच्च प्रदर्शन गरेपछि डच म्यानेजरले मेस्सीको प्रशंसामा थुप्रै शब्द खर्चिए ।

सातौं स्थानको बेटिसको घरेलु मैदानमा पहिला गोल खाएर पछि परेको अवस्थामा ५७औं मिनेटमा बेन्चबाट मैदान छिरेका मेस्सीले बराबरी गोल गरेर बािर्सलोनालाई खेलमा फर्काएका थिए । त्यसपछि ६८औं मिनेटमा बेटिसले आत्मघाती गोल गर्दा पनि त्यसमा मेस्सीकै भूमिका थियो । त्यसपछि खेलको ८७औं मिनेटमा ट्रिनकाओले गोल गरेर बार्सिलोनाको जित पक्का गरे ।

दोस्रो हाफमा मैदान छिरे पनि मेस्सीले उच्च प्रदर्शन गर्दै खेलको म्यान अफ् द म्याच अवार्ड जितेका थिए । खेलपछि प्रशिक्षक कोम्यानले मेस्सीको प्रशंसा गर्न कुनै कसर बाँकी राखेनन् । सोक्रममा कोम्यानले मेस्सी हुँदा र नहुँदा टिमको स्तर र जितको लक्ष्यमा फरक पर्ने बताए । ‘यस खेलमा मेस्सीलाई बेन्चमा राख्ने प्राविधिक निर्णय थियो । उनीबिना पनि हामी खेल जित्न सक्छौं भन्ने हामीलाई लागेको थियो,’ कोम्यानले भने, ‘तर, खेलमा कठिनाइ भयो । र, मेस्सीलाई चाँडै मैदान भित्र्याउने निर्णय मैले गरें ।’

कोम्यानले अघि थपे, ‘मेस्सीको बारेमा म के भनूँ ? उनी सधैं उत्कृष्ट छन् । आज उनी ५७औं मिनेटमा मैदान पसे र २ मिनेटमै खेल बदले । उनलाई खेल बदल्न ४५ मिनेट वा ९० मिनेट चाहिँदैन, अन्तिम १० सेकेन्डमा पनि उनले यो काम गर्न सक्छन् । आज उनले हार्दै गरेको खेल जिताए ।’

मेस्सीले यो सिजनको अन्त्यपछि क्लब छाड्न सक्ने विषयमा कोम्यानले भने, ‘मेस्सी के सोच्दैछन्, मलाई थाहा छैन । तर, म त यही चाहन्छु– उनी अरू थुप्रै वर्ष बार्सिलोनामै रहून्,’ कोम्यानले भने ।

प्रकाशित मिति २६ माघ २०७७, सोमबार १७:५४
Loading...