बेटिसमाथि कमब्याक जित निकाल्दै बार्सिलोना दोस्रो स्थानमा चढ्यो

काठमाडौं, माघ २६
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण कमब्याक जित निकालेको छ । कप्तान लिओनल मेस्सीलाई बेन्चमा राखेर मैदान उत्रिएको खेलमा बार्सिलोनाले सातौं स्थानको रियल बेटिसलाई उसकै घरेलु मैदानमा २–३ ले हरायो । पाहुना टोली बार्सिलोनाले खेलमा पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । क्याटलान टोलीको कमब्याक जितमा दोस्रो हाफमा बेन्चबाट मैदान छिरेका कप्तान लिओनल मेस्सी र युवा खेलाडी फ्रान्सिस्को ट्रिनकाओ नायक बने ।

खेलको ५७औं मिनेटमा मैदान छिरेका मेस्सीले टिमलाई खेलमा फर्काउन बराबरी गोल मात्रै गरेनन्, रियल बेटिसले गरेको आत्मघाती गोलमा भूमिकासमेत खेले । खेल २–२ को बराबरीमा सकिन लागेका बेला पोर्चुगिज युवा खेलाडी ट्रिनकाओेले दर्शनीय गोल गरेपछि खेल बार्सिलोनाले २–३ ले जित्यो । यो जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा पनि चढेको छ ।

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ०३:३९
Loading...