म्यानचेस्टर सिटीद्वारा लिभरपुलको उसकै घरमा ‘रामधुलाइ’ !

काठमाडौं, माघ २५
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले गत सिजनको च्याम्पियन लिभरपुलको नमिठो गरी धुलाइ गरेको छ । आज आइतबार राति भएको खेलमा पाहुना टोली सिटीले घरेलु टोली लिभरपुललाई उसकै घरेलु मैदान एनफिल्ड रंगशालामा १–४ अन्तरको नमिठो हारको सिकार बनायो । सिटी र लिभरपुलका लागि उपाधि होडमा महत्त्वपूर्ण मानिएको खेलमा सिटी विजयी हुँदा लिभरपुल भने उपाधिबाट धेरै पछाडि छाडिएको छ ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले गोल गर्न सकेनन् । पाहुना टोली सिटीले खेलको ३७औं मिनेटमै अग्रता लिने मौका पाएको थियो । तर, इकाए गुन्डोगान पेनाल्टीमा चुके । उनको पेनाल्टी पोस्टभन्दा माथिबाट आकासिएको थियो । लिभरपुलका खेलाडीले बक्समा सिटीका रहिम स्टर्लिङलाई बक्समा लडाएपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका थिए ।

तर, पहिलो हाफमा पेनाल्टी गुमाएर जिरो भनेका उनै गुन्डोगान दोस्रो हाफमा हिरो बने । जहाँ उनले २ गोल गरेर टिमलाई जिततर्फ डोहोराएका थिए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमै उनले गोल गरेर टिमलाई अग्रता दिलाए । र, पहिलो हाफमा पेनाल्टीमा गरेको भुल सुधार गरे ।

तर, घरेलु टोली लिभरपुल ६३औं मिनेटमा खेलमा फर्कियो । लिभरपुलका लागि मोहमद सालाहले पेनाल्टीमार्फत् गोल गरेर खेल १–१ बनाए । सिटीका युवा डिफेन्डर रुबेन डियाजले सालाहलाई बक्समा लडाएपछि रेफ्रीले लिभरपुललाई पेनाल्टी दिएका थिए । तर, बराबरी गोल गरेपछि लिभरपुल एकाएक दबाबमा पर्न गयो । त्यसपछि पाहुना टाली सिटीले लगातार ३ गोल हान्यो । खेलको ७३औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई लिड दिएका थिए ।

त्यसको ३ मिनेटमै स्टर्लिङले गोल गरेपछि लिभरपुलको खेलमा फर्किने सम्भावना संकटमा परेको थियो भने सिटी जिततर्फ अघि बढेको थियो । फेरि खेलको ८३औं मिनेटमा सिटीका युवा खेलाडी फिल फोडेनले बक्स भित्रबाट खतरनाक सटमा अर्को गोल गरेपछि खेल सिटीले १–४ ले जित्यो ।

अब यो जितसँगै सिटीले लिगका पछिल्ला १० खेलमा लगातार जित हात पार्न सफल भएको छ । साथै, उसले शीर्ष स्थानमा अग्रता पनि बढाएको छ । ताजा अवस्थामा सिटी २२ खेलपछि ५० अंकका साथ शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ ।

यता, पराजित लिभरपुलका लागि भने आजको हार निकै महँगो परेको छ । यो हारले गत सिजनको विजेतालाई उपाधि होडमा निकै पछि छाडेको छ । लिभरपुलको खातामा अब २३ खेलपछि मात्रै ४० अंक छ । अहिले नै ऊ एक खेल कम खेलेको सिटीभन्दा १० अंकले पछि छ । यदि सिटीले बाँकी एक खेल पनि जिते लिभरपुल १३ अंकले पछि पर्नेछ, जुन उसका लागि उपाधि होडमा फर्किन करिब–करिब असम्भवजस्तै हुनेछ ।

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ००:०७
Loading...