उत्कृष्ट लयमा सेभिल्ला : निकाल्यो लगातार चौथो जित

काठमाडौं, माघ २५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेभिल्लाले शानदार जित निकालेको छ । आज आइतबार भएको लिगको २१औं साताको खेलमा सेभिल्लाले आफ्नो घरेलु मैदानमा १० खेलाडीमा सीमित पाहुना टोली गेटाफेमाथि ३–० को एकपक्षीय जित निकाल्न सफल भयो । यससँगै सेभिल्लाले लिगका पछिल्ला चार खेल लगातार जित हात पारेको छ । ऊ यतिबेला सिजनकै उत्कृष्ट लयमा देखिएको छ ।

सेभिल्लाको लगातार जितले उपाधि होडमा रहेका रियल मड्रिड र बार्सिलोनामाथि पनि दबाब बढेको छ । बार्सिलोनाले आज राति आफ्नो २१औं खेल नखेल्दासम्म सेभिल्लाले तेस्रो स्थानमा बार्सिलोनाभन्दा २ अंकको अग्रता बनाएको छ । र, दोस्रो स्थानमा रियल मड्रिडभन्दा १ अंकले मात्रै पछि रहेको छ ।

घरेलु मैदानमा सेभिल्लाले ३ वटै गोल दोस्रो हाफमा गरेको थियो, त्यो पनि गेटाफेका डिफेन्डर डेजेन डाकोनाम सोझै रातो कार्ड खाएर मैदान छाडेपछि । डिफेन्डर रातो कार्ड खाएर १० खेलाडीमा सीमित भएपछि गेटाफेमाथि सेभिल्ला एकाएक हाबी भएको थियो । सेभिल्लाका लागि ६७औं मिनेटमा मुनिएर इएल हदादीले पहिलो गोल गरेका थिए । त्यसपछि ८७औं मिनेटमा अलेक्जान्द्रो डायरियो गोमेजले गोल गरे भने ८९औं मिनेटमा युसेफ इन नेश्रीले गोल गरेपछि खेल सेभिल्लाले ३–० ले जित्यो ।

अब यो जितपछि सेभिल्लाले २१ खेलबाट कूल ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यदि आज राति बार्सिलोनाले आफ्नो खेलमा रियल बेटिसलाई स्पष्ट अन्तरमा पराजित गर्न सके ऊ तेस्रा स्थानमा उक्लिनेछ र सेभिल्ला चौथोमा झर्नेछ । यता, सेभिल्लसाँग पराजित गेटाफे २४ अंकसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार २०:४५
Loading...