चोटमुक्त भएर फर्किएका केनले टोटनह्यामलाई जितको बाटोमा फर्काए

काठमाडौं, माघ २५
प्रमुख खेलाडी ह्यारी केन लामो समयपछि चोटमुक्त भएर मैदान फर्किएको खेलमा इंग्लिस क्लब टोटनह्यामले सुखद् नतिजा निकालेको छ । प्रिमियर लिगअनतर्गत आज आइतबार भएको लिगको २२औं साताको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा वेस्ट ब्रुमलाई २–० ले स्तब्ध बनायो ।

पछिल्लो समय लगातार खराब नतिजाको सिकार हुँदै आएको टोटनह्याम केनको कमब्यासँगै जितको बाटोमा पनि फर्किएको छ । नत्र केनबिना यसअघि टोटनह्याम लिगका पछिल्ला तीन खेलमा लगातार पराजित भएको थियो । लगाार तीन हारपछि केन चोटमुक्त हुँदै मैदान फर्किए । र, टिमलाई जितको बाटोमा फर्काउन मुख्य योगदान दिए ।

घरेलु मैदानमा टोटनह्यामका लागि खेलको ५४औं मिनेटमा केनले नै पहिलो गोल गरेका थिए । उनले बक्सभित्रबाट निकै सुन्दर गोल गरेका थिए । त्यससको ४ मिनेटमै टोटनह्यामका लागि सन हेङ मिनले गोल गरेपछि घरेलु टोली जिततर्फ अघि बढेको थियो । सनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

टोटनह्यामको घरमा पाहुना टोली वेस्ट ब्रुमले २ गोल गरेको थियो । तर, दुवै गोलले मान्यता नपाउँदा उसले नतिजा घरेलु टोलीलाई सुम्पियो । र, खेल टोटनह्यामले २–० ले जित्यो । अब यो जितपछि टोटनह्यामले २२ खेलबाट ३६ अंक बनाएको छ । ऊ लिगको सातौं स्थानमा पनि चढेको छ । पराजित वेस्ट ब्रुम भने १२ अंकसहित १९औं स्थानमा छ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार २०:१४
Loading...