पिकेको आरोप– ‘ला लिगाका ८० प्रतिशत रेफ्रीले रियल मड्रिडको पक्ष लिन्छन्’

एजेन्सी, माघ २५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका डिफेन्डर तथा उपकप्तान जेरार्ड पिकेले घरेलु लिग ला लिगाका रेफ्रीमाथि गम्भीर आरोप लगाएका छन् । शनिबार एक अन्तर्वार्तामा कुरा गर्दै स्पेनिस खेलाडीले हिसाब गरेरै ८० प्रतिशत ला लिगाका रेफ्रीले आफूहरूको खास प्रतिस्पर्धी रियल मड्रिडको पक्ष लिने गरेको आरोप लगाएका हुन् ।

यसअघि पनि पिकेले पटक–पटक ला लिगाका रेफ्रीको तटस्थता र भूमिकामाथि प्रश्न गर्दै आएका थिए । एकपटक त उनलाई ला लिगाले ‘संस्था र खेल पद्धतिमाथि जथाभावी टिप्पणी गर्न र अनुशासनमा रहन’ भन्दै कडा चेतावनी नै दिइसकेको छ । तर, पिके रेफ्रीमाथि खनिन अझै छाडेका छैनन् । उनले खेल दौरान रेफ्रीहरूले रियल मड्रिडलाई फाइदा पुग्ने गरी निर्णय लिने गरेको बताए ।

पिकेले खुलेरै ला लिगाका रेफ्रीमध्ये ८० प्रतिशत रेफ्रीहरूले रियलको पक्ष र बार्सिलोनाविरुद्ध निर्णय लिने गरेको दाबी गरेका छन् । थुप्रैपटक खेल दौरान रेफ्रीले नपाउने पेनाल्टी दिएर रियल मड्रिडलाई खेल जिताउने गरेको पिकेको जिकिर छ । तर स्मरण रहोस्, रेफ्रीले रियललाई सघाउने गरी निर्णय लिने गरेको आरोप भने सधैं बार्सिलोनाका खेलाडी, कोच र बोर्डका अधिकारीले मात्रै लगाउने गरेका छन् । आजसम्म बार्सिलोनाबाहेक अन्य टोलीका खेलाडी, कोच वा क्लबका अधिकारीले यसरी सार्वजनिक रूपमा रियल मड्रिडलाई लिएर रेफ्रीमाथि आरोप लगाएका छैनन् ।

उल्टै, एथ्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले त केही समयअघि बार्सिलोनाको आरोपको खण्डन गर्दै ‘रियल मड्रिडले बार्सिलोनाभन्दा बढी अट्याकिङ फुटबल खेल्ने हुँदा बढी पेनाल्टी पाउनु स्वभाविक’ रहेको बताएर बार्सिलोनाले लगाउने आरोपलाई ‘हाँस्यास्पद’ भनेका थिए । बार्सिलोनाले आफूले पेनाल्टी नपाउँदा अन्य टिमले पाएको पेनाल्टीमा डाहा गर्ने गरेको सिमोनीले बताएका थिए ।

तर, पिके भने खुलेरै रेफ्रीले रियल मड्रिडको पक्ष लिने गरी वा उनीहरूलाई खेल जिताउने गरी निर्णय लिने गरेको बताउँछन् । ‘मैले यसअघि पनि पटक–पटक भन्दै आएको छु कि, ला लिगाका ८० प्रतिशत रेफ्रीहरूले खेल दौरान रियल मड्रिडको पक्ष लिन्छन् । र, उनीहरूलाई जिताउने गरी निर्णय लिन्छन्,’ पिकेले भनेका छन्, ‘हामीसँग यस्ता थुप्रै प्रमाण र तथ्यहरू छन् । हामी त्यसै यो भनिरहेका छैनौं ।’

पिकेले रेफ्रीले रियल मड्रिडलाई अनावश्यक पेनाल्टी दिएर खेल जिताउन मदत गर्ने गरेको आरोप लगाए । ‘हामीले देखेका छौं– रेफ्रीहरूले थुप्रैपटक रियल मड्रिडलाई जिताउन अनावश्यक पेनाल्टी दिएका छन् । र, लिगको उपाधि प्रतिस्पर्धालाई प्रभावित पारेका छन् । गत सिजन हामीले यो कुरा पटक–पटक बोल्यौं । तर, निकायले हाम्रो कुरालाई ध्यान दिएन,’ पिकले भने, ‘उनीहरूले मड्रिडको पक्ष लिन्छन् र बार्सिलोनाविरुद्ध निर्णय लिन्छन् ।’

प्रकाशित मिति २५ माघ २०७७, आईतवार १२:४६
Loading...