१ गोल गर्दा रोनाल्डोका नाममा एकसाथ तीन रेकर्ड

काठमाडौं, माघ २५
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका नाममा एकसाथ तीन रेकर्ड बनेका छन् । गत राति सिरी लिगमा बलियो टोली रोमाविरुद्ध खेल्नेक्रममा उनका नाममा नयाँ रेकर्ड थपिएका हुन् । आफ्नो घरमा भएको बलियो टोली रोमाविरुद्ध युभेन्टसले २–० को जित निकाल्दा रोनाल्डोले खेलको १३औं मिनेटमा बक्स बाहिरबाट देब्रे खुट्टाले लो सटमा सुन्दर गोेल गरेका थिए ।

शुक्रबार मात्रै आफ्नो ३६औं जन्मदिन मनाएका रोनाल्डोले त्यसको भोलिपल्टै यस सिजनका लागि लिगको १६औं गोल दर्ता गराए । उनी अहिले सिरी ए लिगको सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनीपछि १४ गोलसहित इन्टर मिलानका रोमलु लुकाकु रहेका छन् । रोमाविरुद्ध गोल गर्नुअघि रोनाल्डो लगातार ४ खेलमा गोलविहीन बनेका थिए । तर, दबाबपूर्ण अवस्थामा उनले रोमाविरुद्ध सुन्दर गोल गर्दै गोलको खडेरी अन्त्य गरे । सो गोलपछि उनका नाममा बनेका तीन रेकर्ड यस्ता छन्–

रेकर्ड १ – ३० वर्षपछि ३०० गोल पूरा

रोनाल्डोले गत रातिको गोलसँगै आफ्नो उमेर ३० वर्षपछि लागेपछि ३००औं गोलको कोसेढुंगा पूरा गरेका छन् । र, यो रेकर्ड हो । समकालीन फुटबलमा बढ्दो उमेर अर्थात् उमेर ३० वर्ष लागेसँगै सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो हुन् । यही उमेरमा रोनाल्डोको जति गोल अन्य कुनै खेलाडीले गरेका छैनन् । बढ्दो उमेरसँगै प्रदर्शन खस्किँदै जानुपर्नेमा रोनाल्डो भने जति बुढा हुँदै गएका छन्, अझै धेरै गोल गरिरहेका छन् । तथ्यांकले नै बताउँछ कि, ३० वर्षअघि युवा अवस्थामा रोनाल्डोले जति खेल खेलेर जति गोल गरेका थिए, ३० वर्ष लागेपछि त्योभन्दा धेरै राम्रो गरिरहेका छन् । रोनाल्डोलाई बढ्दो उमेरको कुनै प्रवाह नै देखिँदैन ।

३० वर्ष पुग्नुअघि रोनाल्डो – ७१८ खेलबाट ४६३ गोल
३० वर्ष लागेपछि रोनाल्डो – ३२६ खेलबाट ३०० गोल

रेकर्ड २ – युभेन्टसको मैदानमा चाँडो ५०औं गोल

गत राति रोमाविरुद्धको १ गोलसँगै रोनाल्डो क्लब युभेन्टसको घरेलु मैदानमा सबैभन्दा चाँडो गोलको अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनी क्लब इतिहासमै सबैभन्दा थोरै खेल खेलेर ५० गोल गर्ने खेलाडी बनेका हुन् । युभेन्टसमा मात्रै तेस्रो सिजन बिताइरहेका रोनाल्डोले गत राति गरेको गोलको मदतमा सबैखाले प्रतियोगिताबाट युभेन्टसको एलिनाज रंगशालामा ५५ खेलबाट ५० गोलको आँकडा पूरा गरे, जुन कीर्तिमानी हो । क्लब युभेन्टसले आफ्नो वेबसाइटमा यसबारे तथ्यांक नै प्रस्तुत गरेको छ ।

रेकर्ड ३ – देब्रे खुट्टाले १४०औं गोल

रोनाल्डो दायाँखुट्टे खेलाडी हुन् । तर, उनी देब्रे खुट्टा पनि बराबरी चलाउन सक्छन् । उनको एउटा खास क्षमता यो पनि हो । गत राति रोमाविरुद्ध १३औं मिनेटमा रोनाल्डो देब्रे खुट्टाले नै शक्तिशाली प्रहारमा गोल गरेका थिए, जुन उनले आफ्नो सिनियर करिअरमा देब्रे खुट्टाले गरेको १४०औं गोल थियो । र, जो दायाँखुट्टे खेलाडी छन्, तीमध्ये सबैभन्दा धेरै देब्रे खुट्टाले गोल गर्ने कीर्तिमानी खेलाडी रोनाल्डो नै हुन् ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार ११:४६
Loading...