आज लिभरपुल र सिटीको महाभिडन्त हुँदै : लिभरपुल ‘गर कि मर’ अवस्थामा

काठमाडौं, माघ २५
इंग्लिस प्रिमियर लिग फुटबलमा आज सिजनकै सबैभन्दा ठूलो भिडन्त हुँदैछ, जहाँ गत सिजनको च्याम्पियन लिभरपुल र त्यसअघिको च्याम्पियन म्यानचेस्टर सिटी यो सिजनको दोस्रो भिडन्तका लागि आमनेसामने हुँदैछन् । लिगकै सबैभन्दा ठूलो खेलका रूपमा हेरिने यो खेल आज राति नेपाली समयअनुसार ठीक १०ः१५ बजेबाट सुरु हुनेछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा हुनेछ ।

यसअघि गत नोभेम्बर ८ मा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । सो खेल सिटीको मैदानमा भएको थियो । आज सिटी साबिक च्याम्पियन टिमको घरमा उत्रिँदा यो खेल धेरैका लागि प्रतीक्षाको खेल बन्नेछ । हाल अंक तालिकामा सिटी शीर्ष स्थानमा छ भने लिभरपुल चौथो स्थानमा रहेको छ ।

यो सिजन हालसम्म सिटीले २१ खेल खेलिसक्दा कूल ४७ अंक जोडेको छ । सिटी यतिबेला यति खतरनाक वेगमा छ कि, उसले लिगका पछिल्ला ९ खेलमा लगातार स्पष्ट जित निकालेको छ । यी ९ खेलमध्ये सिटीले चेल्सीलाई १–३ लाई हराएको छ । पछिल्लो समय शानदार लयमा रहेको सिटी आज लगातार १०औं जितको खोजीमा लिभरपुलको घरेलु मैदानमा उत्रिनेछ ।

आज आफ्नो घरमा उत्रिँदा लिभरपुल भने ठूलो दबाबमा हुनेछ । लिभरपुलले पछिल्ला ५ खेलमध्ये मात्रै २ खेल जित्दा २ खेल हारेको छ भने १ खेल बराबरी गरेको छ । यो सिजन सुरुआतमा राम्रो लयमा रहे पनि लिभरपुल पछिल्ला खेलहरूमा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ । हालकै अवस्थामा लिभरपुल एक खेल कम खेलेको सिटीभन्दा ७ अंकले पछि छ । आजको खेल लिभरपुलका लागि एकदमै महत्त्वपूर्ण छ ।

उपाधि होडमा फर्किनका लागि आज लिभरपुलले सिटीमाथि स्पष्ट जित निकाल्नुपर्ने हुन्छ । जिते उसले सिटीसँगको दूरी ४ मा झार्नेछ भने पराजित भए सिटीभन्दा १० अंकले पछि पर्नेछ । तसर्थ, आज एनफिल्डमा पाहुना टोली सिटीसँग खेल्दा लिभरपुल ‘गर कि मर’ अवस्थामा खेल्नेछ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार १०:४४
Loading...