ला लिगामा बार्सिलोना र रियल बेटिस खेल्दै

काठमाडौं, माघ २५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज उपाधि होडमा रहेको बार्सिलोनाले आफ्नो २१औं साताको खेल खेल्दै छ । क्याटलान क्लब सो खेलका लागि रियल बेटिसको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । आजको खेल बार्सिलोनाका लागि २१औं र बेटिसका लागि २२औं राउन्डको खेल हो ।

हाल अंक तालिकामा बार्सिलोना २० खेलपछि ४० अंक बनाएर चौथो स्थानमा छ । रियल मड्रिड र सेभिल्लाले आ–आफ्नो खेल जित्दा बार्सिलोना दोस्रोबाट चौथोमा चिप्लिएको हो । बार्सिलोनाले यो सिजन १२ खेल जितेर ४ खेल बराबरी गर्दा ४ खेल हारेको छ । हालको अवस्थामा बार्सिलोना एक खेल कम खेलेको एथ्लेटिको मड्रिडभन्दा ठीक १० अंकले पछि छ । यदि आज राति अवे मैदानमा जित निकाल्न सके बार्सिलोनाले एथ्लेटिकोको भन्दा २ खेल बढी खेलेर अंक दूरी ७ मा छोट्याउनेछ ।

यता, आज बार्सिलोनालाई आफ्नो घरमा स्वागत गर्न लागेको बेटिस हाल २१ खेलपछि ३० अंकका साथ सातौं स्थानमा रहेको छ । उसले यो सिजन ९ खेल जितेर ३ खेल बराबरी गर्दा ९ खेल नै हारेको छ । आज आफ्नो घरमा बलियो टोलीलाई स्वागत गर्दा बेटिस अप्रत्यासित जितको खोजीमा हुनेछ । यदि बार्सिलोनालाई हराउन सके बेटिसले अंक तालिकामा एक स्थान सुधार गर्नेछ ।

आज अवे मैदानमा खेल्नका लागि बार्सिलोनाको टोलीमा पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन, कप्तान लिओनल मेस्सी, युवा डिफेन्डर सर्जिनो डेस्ट, जोर्डी अल्बा, उसामान डेम्बेले, एन्टोनी ग्रीजम्यानसहितका खेलाडी उपलब्ध छन् । खेलअघि प्रशिक्षक रोनाल्ड कोम्यानले बेटिसविरुद्धको खेल सहज नहुने भन्दै आफूहरूले सावधानीपूर्वक खेल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार ०९:३९
Loading...