रोमामाथि सहज जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २५
इटालियन सिरी ए लिग फुटबलमा चौथो स्थानको युभेन्टसले तेस्रो स्थानको रोमामाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको लिगको २०औं साताको खेलमा युभेन्टसले पाहुना टोली रोमामाथि २–० को एकपक्षीय जित निकाल्न सफल भयो । एलिनाज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले पहिलो हाफमा १ गोल हान्यो भने दोस्रो हाफमा १ उपहार गोल पायो ।

घरेलु टोलीका लागि खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दर्शनीय गोल गरेका थिए । मैदानको माथिल्लो भागबाट एलेक्स सान्ड्रोले दिएको क्रस पास नियन्त्रण्मा लिएर अल्भारो मोराटाले दिएको छोटो पासलाई रोनाल्डोले बक्स भित्रबाट बाहिर निकालेर देब्रे खुट्टाले शक्तिशाली लो प्रहार गर्दै पोस्टको तल्लो कुनाबाट बललाई जाली चुमाएका थिए । उनको कडा प्रहार रोमाका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

हिजो मात्रै ३६औं जन्मदिन मनाएका रोनाल्डोले जन्मदिनको भोलिपल्टै लिगमा गोल गर्न सफल भए । यससँगै उनले पछिल्ला ४ खेलमा लागेको गोलको खडेरी पाँचौं खेलबाट अन्त्य पनि गरेका छन् । यसअघि उनले लगातार ४ लिग खेलमा गोल गर्न सकेका थिएनन् । रोनाल्डोले आज गरेको गोल यो सिजनको १६औं लिग गोल हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा उपहार गोल पायो । खेलको ६९औं मिनेटमा रोमाका इबान्जेले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टस जिततर्फ अघि बढेको थियो । सो आत्मघाती गोलमा युभेन्टसका सब्सिच्युट खेलाडी डेजान सुलुसेभ्स्कीले भूमिका खेलेका थिए । उनको प्रहार बक्समा क्लियर गर्न खोज्दा इबान्जेले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट गोल नभएपछि खेल युभेन्टसले २–० ले जित्यो ।

आजको खेलमा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलभरिमा ७ पटक प्रहार गरेका थिए । जसमा उनका ७ अन टार्गेट प्रहारमध्ये १ प्रहार गोलमाप परिणत भयो भने १ प्रहार बारमा लागेर फर्कियो । उनका २ प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए ।

अब यो जितपछि युभेन्टसले लिगका २० खेलबाट ४२ अंक जोडेर तेस्रो स्थानमा चढेको छ । ऊ अझै पनि एक खेल बढी खेलेको लिग लिडर इन्टर मिलानभन्दा ५ अंकले पछि छ भने समान २० खेल खेलेको दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले पछि छ । यता, पराजित रोमा भने चौथो स्थानमा झरेको छ । उसको खातामा २१ खेलपछि ४० अंक छ ।

प्रकाशित मिति २५ माघ २०७७, आईतवार ००:३९
Loading...