युभेन्टस भर्सेस रोमा : पहिलो हाफमा युभेन्टस १–० ले अघि

काठमाडौं, माघ २४
इटालियन सिरी ए लिग फुटबलमा अहिले चौथो स्थानको युभेन्टस र तेस्रो स्थानको रोमाको खेल जारी छ । घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा युभेन्टसले १–० को अग्रता लिएको छ । प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले दर्शनीय गोल गरेका थिए । पहिलो हाफमा रोनाल्डोका तीन अन टार्गेट प्रहारमध्ये एक प्रहार बारमा लागेर फर्कियो भने एक प्रहारलाई गोलकिपरले कठिन गरी बचाएका थिए ।

१३औं मिनेटमा मैदानको माथिल्लो भागबाट एलेक्स सान्ड्रोले दिएको क्रस पास नियन्त्रण्मा लिएर अल्भारो मोराटाले दिएको छोटो पासलाई रोनाल्डोले बक्स भित्रबाट बाहिर निकालेर देब्रे खुट्टाले लो सटमा शक्तिशाली प्रहार गर्दै पोस्टको तल्लो कुनाबाट जाली चुमाएका थिए । उनको कडा प्रहार रोमाका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

हिजो मात्रै ३६औं जन्मदिन मनाएका रोनाल्डोले जन्मदिनको भोलिपल्टै लिगमा गोल गर्न सफल भए । यससँगै उनले पछिल्ला ४ खेलमा लागेको गोलको खडेरी पाँचौं खेलबाट अन्त्य पनि गरेका छन् । यसअघि उनले लगातार ४ लिग खेलमा गोल गर्न सकेका थिएनन् । रोनाल्डोले आज गरेको गोल यो सिजनको १६औं लिग गोल हो ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार २३:३१
Loading...