रोमाविरुद्ध खेल्दा रोनाल्डोमाथि चर्को दबाब

एजेन्सी, माघ २४
इटालियन सिरी ए लिगमा आज राति युभेन्टस र रोमाको खेल हुँदैछ । युभेन्टसको घरेलु मैदानमा सो खेल हुँदा क्रिस्टियानो रोनाल्डोमाथि चर्को दबाब हुनेछ । एलिनाज रंगशालामा उत्रिँदा हिजो मात्रै ३६औं जन्मदिन मनाएका रोनाल्डोमाथि धेरैको नजर रहने पक्का छ । किनभने, रोनाल्डोले लिगका पछिल्ला ४ खेलमा १ गोल पनि गर्न सकेका छैनन् । यसअघि सिजनको पहिलो लेगमा युभेन्टसले रोमाको घरमा २–२ को बराबरी खेल्दा २ वटै गोल रोनाल्डोले गरेका थिए । त्यसबेला रोनाल्डोकै गोलमा युभेन्टस हारबाट बचेको थियो ।

सन् २०१८ मा रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो घरेलु लगातार लिगका चार खेलमा गोलविहीन बनेको यो नै पहिलोपटक हो । यदि आज राति पनि रोमाविरुद्ध गोल गर्न नसके लिगमा उनको गोलको खडेरी झनै लम्बिनेछ । यसअघि रोनाल्डोले साम्पडोरिया, बोलोग्ना, इन्टर मिलान र जेनोआविरुद्ध खेल्दा गोलविहीन बनेका थिए ।

तर, लिगमा ४ खेलमा गोलविहीन बने पनि रोनाल्डो अझैसम्म सिरी ए लिगको सर्वाधिक गोलकर्ता खेलाडी नै हुन् । १६ खेलबाट १५ गोल गर्दै रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । उनलाई इन्टर मिलानका रोमेलु लुकाकुले १४ गोलसहित पिछा गरिरहेका छन् । तेस्रो स्थानमा लाजियोको सिरो इम्मोबिले रहेका छन् ।

यता, घरेलु लिगमा पछिल्ला ५ खेलमा गोल गर्न नसके पनि रोनाल्डोले यी ४ खेलकै बीचमा अन्य प्रतियोगितामा लगातार गोल गरिरहेका छन् । यी ४ खेलको बीचमा भएको सुपर कपको फाइनल खेलमा उनले टिमका लागि विजयी गोल गरे भने ३ दिनअघि मात्रै कोपा इटालियाको सेमिफाइनलमा इन्टर मिलानविरुद्ध पनि २ गोल गरेका थिए । तर, उनले लिगमा पनि गोल नगरेको खेल चार भइसकेको छ । जारी सिजन रोनाल्डोले सबैखाले प्रतियोगितामा कूल २३ खेलाट २२ गोल र ६ असिस्ट गरिसकेका छन् ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १८:१६
Loading...