रियल मड्रिडको संकट बढ्यो : रामोसको अप्रेसन गर्ने तयारी

एजेन्सी, माघ २४
यो सिजन कठिन अवस्थाबाट अघि बढिरहेको स्पेनिस क्लब रियल मड्रिडलाई थप समस्या बढ्ने भएको छ । रक्षापंक्तिका मुख्य कमान्डर तथा टोलीका कप्तान सर्जियो रामोसको अप्रेसन हुने भएको छ । र, यसका कारण स्पेनिस खेलाडीले आगामी केही महत्त्वपूर्ण खेल गुमाउने भएका छन् ।

‘मार्का’ अनुसार रामोसको घुँडाको अप्रेसन हुने भएको हो । रियलले अप्रेसनको मिति तय गरेको छैन । तर, केही दिनभित्र उनको घुँडाको अप्रेसन हुनेछ । रामोस केही समययता टोलीबाहिर रहँदै आएका थिए । उनको फिटनेसमा सुधार नआएपछि अप्रेसन गर्न लागिएको हो । रामोस स्पेनिस सुपर कपको सेमिफाइनल खेल दौरान घाइते भएका थिए ।

रिपोर्टअनुसार अप्रेसनपछि रामोस ६ सातासम्म बाहिर हुनेछन् । उनले सो अवधिका सबै खेल गुमाउनेछन् । जसमा च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब एटलान्टासँगका दुवै खेल उनले गुमाउनेछन् । अप्रेसनपछि रामोस मार्च महिनाको अन्त्यतिरबाट मैदान फर्किन पाउनेछन् ।

पछिल्लो समय रामोसबिना रियल लगातार संघर्ष गर्दै आइरहेको छ । रियल सुपर कपपछि कोपा डेल रे कपबाट आउट भइसकेको छ भने ला लिगामा पनि निकै कमजोर अवस्थामा छ । रामोसको अनुपस्थिति अब प्रशिक्षक जिदानका लागि टाउको दुखाइ बन्ने भएको छ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १८:०६
Loading...