सिरी ए लिग : आज युभेन्टस र भेरोनाको खेल हुँदै

काठमाडौं, फागुन १५

इटालियन सिरी ए लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने खेलमध्ये एक खेलमा नवौं स्थानको भेरोना र तेस्रो स्थानको युभेन्टसको खेल पनि हुँदैछ । यो खेल भेरोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । आजको खेल युभेन्टसका लागि २३औं र भेरोनाका लागि २४औं साताको खेल हुनेछ । हाल अंक तालिकामा युभेन्टस २२ खेलपछि ४५ अंक बनाएर तेस्रो स्थानमा छ । ऊ ताजा अवस्थामा लिग लिडर इन्टर मिलानभन्दा ८ अंक र दोस्रो स्थानको एसी मिलानभन्दा ४ अंकले पछि छ । तर, युभेन्टसले इन्टर मिलान र एसी मिलानभन्दा एक खेल कम खेलेको छ । यता, आज युभेन्टसलाई आफ्नो घरमा स्वागत गर्न लागेको भेरोनाले २३ खेलबाट ३४ अंक बनाएको छ ।

आज नवौं स्थानको भेरोनाको मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा केही प्रमुख खेलाडी छैनन् । फरवार्ड लाइनमा लामो समयदेखि चोटग्रस्त फरवार्ड पाउलो डिबाला टोलीमै छैनन् । त्यसैगरी, अर्का प्रमुख फरवार्ड अल्भारो मोराटा पनि आजको खेलका लागि टोलीमै छैनन् । आज फ्रन्ट लाइनमा प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो मात्रै छन् । आजको खेलमा मुख्य जिम्मेवार उनीमाथि नै हुनेछ । उनीबाहेक दोस्रो टिमका नयाँ खेलाडीलाई सिनियर टोलीमा डाकिएको छ । तर, मिडफिल्डमा भने सबैजसो प्रमुख खेलाडी छन् । आरोन राम्से, वेस्टन म्याकेनी, फेडरिको किइजा, आड्रेन राबिओट, रोड्रिगो बेन्टाकुर, डेजान सुलुसेभ्स्कीलगायत खेलाडी छन् । त्यसैगरी, रक्षापंक्तिमा पनि माथिस डि लिग्ट, एलेक्स सान्ड्रो, मेरिह डेमिरालसहितका खेलाडी छन् । गोलकिपरमा जियानलुइजी बुफोन र सिजेस्नीसहितका खेलाडी टोलीमा छन् ।

आज नवौं स्थानको टोलीविरुद्ध अवे मैदानमा उत्रिँदा युभेन्टस स्पष्ट जितको खोजीमा हुनेछ । आजको खेल जिते युभेन्टसले समान खेलपछि दोस्रो स्थानको एसी मिलानसँगको दूरी १ मा झार्नेछ भने लिग लिडर इन्टर मिलानसँको दूरी ५ मा झार्नेछ । आज युभेन्टसको टोलीमा मुख्य गरी फ्रन्ट लाइनमा रोनाल्डोसहित किइजा, म्याकेनी र सुलुसेभ्स्कीमाथि मुख्य जिम्मेवारी हुनेछ । यसअघिको खेलमा क्रोटोनेविरुद्ध २ गोल गरेका रोनाल्डो आज पनि सकेसम्म धेरै गोल गरेर गोल संख्या बढाउने दाउमा हुनेछन् । उनले यो सिजन हालसम्म १८ गोल गरिसकेका छन् । र, उनी लिगको एकल सर्वाधिक गोलकर्ता खेलाडी हुन् । लिगको सर्वाधिक गोलकर्तामा लिड कायमै राख्न र गोल्डेन बुटमा प्रतिस्पर्धा बढाउन उनलाई सकेसमम चाँडो धेरैको गोलको आवश्यकता रहेको छ ।

प्रकाशित मिति १५ फाल्गुन २०७७, शनिबार ०९:५०
Loading...