ला लिगामा आज रियल मड्रिड हुएस्काको सामना गर्दै

काठमाडौं, माघ २४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज रियल मड्रिडले आफ्नो २१औं साताको खेल खेल्दै छ । यो खेलका लागि रियल सबैभन्दा पुछार २०औं स्थानको हुएस्काको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ९ बजेबाट सुरु हुनेछ ।

जारी सिजन रियलले २० खेल सकिँदा १२ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ४ खेल हारेको छ । रियलको हालको अवस्थामा दोस्रो स्थानको बार्सिलोनासँग बराबरी ४०–४० अंक छ भने एक खेल बढी खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा ठीक १० अंकले पछि छ ।

यो सिजन लिगमा निकै कमजोर अवस्थामा रहेको रियल अझै उपाधि होडमा छ । तर, उसको बाटो सहज छैन । किनभने, रियल हालकै अवस्थामा लिग लिडरभन्दा १० अंकले पछि छ । एथ्लेटिकोसँग उपाधि होड बढाउन रियलका लागि अबका हरेक खेल दबाबपूर्ण हुनेछन् । आज अवे मैदानमा हुएस्काविरुद्ध स्पष्ट जित निकाले रियल बार्सिलोनाले अर्को खेल नखेल्दासम्म दोस्रो स्थानमा चढ्नेछ । र, एथ्लेटिकोसँगको दूरी ७ मा छोट्याउनेछ ।

रियल यसअघि आफ्नै घरेलु मैदानमा लेभान्टेसँग १–२ ले पराजित भएको थियो । सो हारपछि रियललाई अंक तालिकामा झट्का लागेको थियो । टोलीका प्रमुख प्रशिक्षक जिनेदिन जिदान आज टोलीमा फर्किंदैछन् । कोरोना भाइरसको संक्रमणका कारण यसअघि उनी बिदामा थिए । उनी नहुँदा सहायक प्रशिक्षकले टोली सम्हालेका थिए । तर, आजको खेलबाट जिदानले नै टोली सम्हाल्दैछन् ।

आजको खेलमा रियलको टोलीमा इडेन हाजार्ड चोटका कारण हुनेछैनन् । त्यसैगरी, कप्तान सर्जियो रामोस पनि आज छैनन् । रक्षापंक्तिमा राफाएल भाराने, नाचो, मार्सेलो, फोर्लान मेन्डीसहितका खेलाडी उपलब्ध छन् । मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच र कासेमिरोको सदाबहार सेट आज हुनेछ । फ्रन्ट लाइन करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुयिरले सम्हाल्नेछन् ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १२:१३
Loading...