सिरी ए : आज युभेन्टस र रोमाको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, माघ २४
इटालियन सिरी ए लिग फुटबल प्रतियोगितामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगका चौथो स्थानको युभेन्टस र तेस्रो स्थानको रोमा सिजनको दोस्रो लेगको खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ ।

आज हुन लागेको खेल दोस्रो लेगको हो । यसअघि सिजनको सुरुआतमा भएको पहिलो लेग रोमाको घरमा भएको थियो, जुन खेल २–२ को बराबरीमा सकिएको थियो । सो खेलमा युभेन्टसलाई हारबाट बचाउन क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । आजको खेलमा युभेन्टसले रोमालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्नेछ ।

हाल अंक तालिकामा युभेन्टस १९ खेलपछि ३९ अंक बनाएर चौथो स्थानमा रहेको छ । उसले यो सिजन ११ खेल जितेर ६ खेल बराबरी गर्दा २ खेल हारेको छ । युभेन्टस हाल लिग लिडर इन्टर मिलानभन्दा ८ अंकले पछि छ । तर, युभेन्टसले २ खेल कम खेलेको छ । आज रोमालाई पराजित गर्न सके युभेन्टस तेस्रो स्थानमा उक्लिनेछ ।

यता, आज युभेन्टसको मैदानमा उत्रिन लागेको रोमा अहिले युभेन्टसभन्दा अघि तेस्रो स्थानमा छ । उसको खातामा २० खेलपछि ४० अंक छ । आजको खेलमा युभेन्टस बढी दबाबमा हुनेछ । उपाधि होडमा फर्किनका लागि उसलाई आज घरेलु मैदानमा हुने यो खेलमा स्पष्ट जित आवश्यक छ । यदि पराजय वा बराबरी भए युभेन्टसका लागि त्यो धेरै महँगो पर्नेछ । आजको खेलमा युभेन्टसका प्रशिक्षक आन्ड्रेया पिर्लोले प्रमुख खेलाडीको टोली उतार्नेछन् ।

आज टोलीमा क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटासहितका खेलाडी उपलब्ध छन् भने यसअघि घाइते अवस्थामा रहेका पाउलो डिबाला पनि यसै खेलबाट कमब्याक गर्ने सम्भावना छ । युभेन्टसले यसअघि कोपा इटालियाको सेमिफाइनलमा इन्टर मिलानलाई उसकै घरमा १–२ ले हराएको थियो । मिलानविरुद्ध युभेन्टसका लागि २ वटै गोल रोनाल्डोले गरेका थिए । आज रोमाविरुद्ध उत्रिँदा युभेन्टस उच्च मनोबलमा हुनेछ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १०:२५
Loading...