लेवान्डोस्की पेनाल्टीमा चुके पनि बार्यनको जित : बनायो १० अंकको अग्रता

काठमाडौं, माघ २४
जर्मन लिग बुन्डेसलिगा फुटबलमा साबिक च्याम्पियन बार्यन म्युनिखले फराकिलो अग्रता बनाएको छ । गत राति लिगको २०औं साताको खेलमा बार्यनले हर्था वर्लिनलाई उसकै घरेलु मैदानमा ०–१ को साँघुरो अन्तरमा हराउँदै महत्त्वपूर्ण ३ अंक बटुल्न सफल भयो । यो जितले बार्यनलाई यो सिजन उपाधि होडमा १० अंकको अग्रता दिलाएको छ ।

यस खेलमा बार्यनका सुपरस्टार रोवर्ट लेवान्डोस्की पेनाल्टीमा चुके । यो सिजन उनले पहिलोपटक पेनाल्टी मिस गरेका हुन् । खेलको ११औं मिनेटमा गोल लिएर अघि बढिरहेका बार्यनका लिरोए सानेलाई वर्लिनका गोलकिपरले लडाएपछि रेफ्रीले बार्यनलाई पेनाल्टी दिएका थिए । तर, लेवान्डोस्कीको पेनाल्टी प्रहार वर्लिनका गोलकिपरले रोकिदिए ।

त्यसपछि बार्यनलाई जिताउन १ मात्रै गोल खेलको २१औं मिनेमा किङ्स्ले कोमनले गरेका थिए । उनले थोमस मुलरको पासमा बक्स बाहिरबाट हानेको हाई प्रहारले सोझै जाली चुमेको थियो । वर्लिनका गोलकिपर केही अघि बढेकाले उनले उचाइबाट आएको बल रोक्नै सकेनन् । सो गोलपछि खेलभरि नै थप गोल भएन । र, खेल बार्यनले ०–१ ले जित्यो ।

अब यो जितपछि बार्यनले २० खेलबाट कूल ४८ अंक बनाएको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानको आरबी लेइपजिगलाई ठीक १० अंकले पछि पारेको छ । अहिलेको अवस्थामा बोरुसिया डर्टमुन्ड बार्यनभन्दा ठीक १६ अंकले पछि परिसकेको छ । डर्टमुन्ड यो सिजन उपाधि होडबाट धेरै पर छाडिएको छ । यता, बार्यनसँग पराजित वर्लिन २९ अंकसहित आठौं स्थानमा छ । उसले बार्यनको भन्दा १ खेल कम खेलेको छ ।

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १०:००
Loading...