सिरी ए लिगको उपाधि होडबारे प्रशिक्षक पिर्लोको आफ्नै दाबी

एजेन्सी, माघ २३
इटालियन क्लब युभेन्टसका प्रमुख प्रशिक्षक आन्ड्रेया पिर्लोले घरेलु सिरी ए लिगमा अझै उपाधि होड खुला रहेको बताएका छन् । शनिबार लिगको २०औं साताको खेलमा रोमासँग खेल्नुअघि मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लिगमा अझै थुप्रै अंकको खेल बाँकी रहेकाले उपाधि दौड नटाढिएको बताए ।

लिगको अंक तालिकामा हाल युभेन्टस १९ खेलपछि ३९ अंक बनाएर चौथो स्थानमा छ । युभेन्टस हाल १ खेल बढी खेलेको एसी मिलानभन्दा ७ अंकले पछि छ । यदि बाँकी एक खेल जिते युभेन्टसले मिलानसँगको दूरी ४ मा झार्नेछ । युभेन्टसले शनिबार लिगको एक बलियो टोली रोमासँग प्रतिस्पर्धा गर्दैछ ।

शनिबारको खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै पिर्लोले उपाधि होडबारे धारणा राखे । सोक्रममा उनले युभेन्टस अहिले पनि ठीकठाक उपाधि होडमा रहेको बताए । ‘कतिपयले हामी उपाधि होडमा छैनौं भनेर चिन्ता गरेको म सुन्छु । तर, यो आवश्यक छैन । किनभने, लिगमा अझैसम्म थुप्रै खेल बाँकी छन् । र, कम्तीमा पनि टप–१० मा रहेका सबै टिम उपाधि होडमा छन्,’ पिर्लोले भने, ‘यसमा कुनै शंका छैन, हाम्रा लागि उपाधि एकदमै खुला छ ।’

पिर्लोले आफूहरूले ठूला टोलीसँगका खेल जित्न ध्यान लगाउनुपर्ने बताएका छन् । ‘हामी सधैं सबै खेल जित्न चाहन्छौं । तर, अहिले हामीमाथि उपाधि होडमा मजबुती बढाउन ठूला खेल जित्नुपर्ने दबाब छ । हामी त्यसका लागि तयार छौं । भोलि रोमासँगको खेल त्यसमध्ये एक हुनेछ,’ पिर्लोले भने ।

प्रकाशित मिति २३ माघ २०७७, शुक्रबार २२:०९
Loading...