डिबाला कहिलेबाट फर्किंन्छन् मैदान ?

एजेन्सी, माघ २२
इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला चोटमुक्त हुँदै मैदान फर्किने तयारीमा रहेका छन् । तीन सातादेखि चोटका कारण टोलीबाहिर रहँदै आएका उनी अहिले रिकभरीको अन्तिम चरणमा छन् । डिबालाले अन्तिमपटक सिरी ए लिगअन्तर्गत जनवरी ११ तारिखमा सासुओलोविरुद्धको खेल खेलेका थिए । चोट बोकेपछि उनले सो खेलमा ४३औं मिनेटमै मैदान छाडेका थिए । त्यसयता उनी लगातार टोलीबाहिर छन् ।

चोटका कारण डिबालाले ७ खेल गुमाइसकेका छन् । तर, अब भने उनी चोटमुक्त भएर प्रशिक्षणमा फर्किने तयारीमा छन् । इटालियन मिडियाका अनुसार डिबाला शुक्रबारबाट प्रशिक्षणमा फर्किने सम्भावना छ । बिहीबार अबेर वा शुक्रबार बिहान डिबालाको मेडिकल जाँच हुनेछ । र, उनले मेडिकल पास पाएर प्रशिक्षणमा फर्किन अनुमति पाउनेछन् ।

डिबालाले शनिबार सिरी ए लिगमा रोमाविरुद्ध हुने खेलबाट कमब्याक गर्ने सम्भावना छ । सो खेल युभेन्टसको मैदानमा हुनेछ । यदि शुक्रबारसम्ममा डिबाला प्रशिक्षणमा फर्किए उनले रोमाविरुद्धको खेलमा बेन्चबाट मैदान फर्किन सक्नेछन् । डिबाला टोलीमा नहुँदा अहिले फ्रन्ट लाइनमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले सम्हालिरहेका छन् ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १९:४५
Loading...