रोनाल्डोलाई सम्झिँदै रियल मड्रिडले दियो बधाई

एजेन्सी, माघ २२
स्पेनिस क्लब रियल मड्रिडले आफ्ना पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोलाई बधाई ज्ञापन गरेको छ । अघिल्लो साता रोनाल्डोले फुटबल इतिहासमा सर्वाधिक गोलकर्ता खेलाडीको कीर्तिमान बनाएपछि रियले अफिसियल रूपमा रोनाल्डोलाई बधाई दिएको हो । पोर्चुगलका रोनाल्डोले सन् २००९ देखि २०१८ समम रियल मड्रिडबाट खेलेका थिए । ९ सिजन सान्टियागो बर्नाबेउमा बिताउनेक्रममा रोनाल्डोले कूल ४३८ खेलबाट ४५० गोल गरेका थिए । रोनाल्डोले रियलबाटै चारपटक च्याम्पियन्स लिग र चारपटक बालोन डिओर अवार्ड तथा तीनपटक युरोपियन गोल्डेन बुट जितेका थिए ।

त्यत्रि मात्रै हैन, रोनाल्डो रियल मड्रिडको इतिहासकै सर्वाधिक सफल र महान् खेलाडी मानिन्छन् । उनले सन् २०१८ मा युभेन्टस जान क्लब छाडेका थिए । तर, आज पनि रियलसँग रोनाल्डोको व्यक्तिगत सम्बन्ध सुमधुर नै रहेको छ । रियललाई सन् २०१६ देखि २०१८ सम्म च्याम्पियन्स लिगको उपाधि ह्याट्रिक गराउन रोनाल्डोले नायकको भूमिका खेलेका थिए । रोनाल्डोले रियलबाट ९ वर्षमा चार च्याम्पियन्स लिग र दुई ला लिगासहित कूल १५ उपाधि जितेका छन् ।

गत साता रोनाल्डोले अस्ट्रिया तथा चेकोस्लोभाकियाका स्टार खेलाडी जोसेफ बिकानका नाममा रहेको फुटबल इतिहासको सबैभन्दा बढी कीर्तिमानी ७५९ अफिसियल गोलको रेकर्ड भंग गरेका थिए । बुधबार कोपा इटालियाको सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानलाई १–२ ले हराउँदा रोनाल्डोले २ गोल गगरेका थिए । सो खेलपछि रियलले अफिसियल ट्वीटरमार्फत् रोनाल्डोलाई बधाई दिएको छ । सो खेलमा रोनाल्डोले ७६१औं र ७६२औं गोल गरेका थिए । तर, रोनाल्डोले बिकानका नाममा रहेको ७५९ गोेलको रेकर्ड भने त्यसअघि नै भंग गरेका थिए ।

बिकानले आफ्नो करिअरमा कूल ७५९ अफिसियल गोल गरेको तथ्यांक छ । तर, रोनाल्डोले बिकानको सो रेकर्ड भंग गरेको चर्चा भएपछि अस्ट्रियन फुटबल संघले भने अफिसियल रूपमै बिकानको कूल गोल संख्या ७५९ नभई ८२१ रहेको र रोनाल्डोले अझै सो रेकर्ड भंग नगरेको दाबी गरेको थियो । तर, विभिन्न तथ्यांक र रेकर्डहरू अनुसार बिकानको कूल गोल संख्या ७५९ नै रहेको देखन्छ ।

क्लब रियलले अफिसियल ट्वीटरमार्फत् रोनाल्डो आफ्नो क्लब इतिहास र विश्व फुटबलकै ‘अल टाइम टप गोल स्कोरर’ रहेको कुरा उल्लख गर्दै बधाई ज्ञापन गरेको छ । रियलले आफ्नो ट्वीटरमा छोटो सन्देश दिँदै भनेको छ– ‘हाम्रो क्लब इतिहास र विश्व फुटबलकै सर्वाधिक गोलकर्ता । बधाई छ, क्रिस्टियानो !’

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १७:५२
Loading...