मेस्सीका नाममा बन्यो अर्को दुर्लभ रेकर्ड

काठमाडौं, माघ २२
स्पेनिस फुबल क्लब बार्सिलोनाका कप्तान समेत रहेका फरवार्ड लिओनल मेस्सीले अर्को एउटा दुर्लभ रेकर्ड बनाएका छन् । उमेरले ३४ वर्ष पुग्नै लागेका अर्जेन्टिनी फरवार्ड मेस्सी अब फुटबल इतिहासमै सबैभन्दा धेरै असिस्ट रेकर्डमा ३०० को आँकडा पार गर्ने पहिलो खेलाडी बनेका छन् । यो फुटबल इतिहासकै दुर्लभ रेकर्ड हो ।

गत राति कोपा डेल रे कप फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले ग्रानाडामाथि उसकै घरेलु मैदानमा कमब्याक ३–५ को जित निकाल्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा मेस्सीले गोल गर्न नसके पनि १ गोलमा सोझो असिस्ट गरेका थिए भने अन्य ४ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

खेलको ८८औं मिनेटमा मेस्सीले एन्टोनी ग्रीजम्यानको गोलमा असिस्ट गरेका थिए, जुन उनका लागि करिअरको ३००औं असिस्ट थियो । फुटबलको तथ्यांक संकलन तथा विश्लषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले सिनियर करिअरमा ३००औं असिस्ट पूरा गरेको जनाएको छ । मेस्सीले आफ्नो क्लब तथा अन्तर्राष्ट्रिय फुटबल याात्राको दौरान बार्सिलोनाका कूल २६० र अर्जेन्टिनाको राष्ट्रिय टिमका ४० असिस्ट गरेका छन् ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १३:४८
Loading...