‘बेस्ट फर्म’मा फर्किएका ग्रीजम्यानले प्रशिक्षक र कप्तानलाई दिए यस्तो सन्देश

एजेन्सी, माघ २२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्याले आफ्नो पछिल्लो समयको लय र प्रदर्शनबारे बोलेका छन् । गत राति कोपा डेल रे कपको अन्तिम आठमा ग्रानाडामाथि ३–५ को नाटकीय कमब्याक जित निकाल्नेक्रममा उत्कृष्ट प्रदर्शन गरेका उनले खेलपछि उत्साहित हुँदै प्रतिक्रिया दिए । उनले टिमको जितमा सघाउन पाउँदा खुसी लागेको मात्रै बताएनन्, आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यान र कप्तान लिओनल मेस्सीलाई पनि सन्देश दिए ।

गत राति बार्सिलोना ग्रानाडासँग ०–२ को खराब हारको मुखमा पुगेर प्रतियोगिताबाटै आउट हुन लागेका अन्तिम ५ मिनेटमा २ गोल गरेर बार्सिलोनाले खेल २–२ बनायो । त्यसपछि ३० मिनेटको थप समयमा बार्सिलोनाले थप ३ गोल गर्दै खेल ३–५ ले जित्यो । बार्सिलोनालाई हारको मुखबाट उद्धार गरेर उत्कृष्ट कमब्याक जित दिलाउनेक्रममा ग्रीजम्यानले उत्कृष्ट प्रदर्शनका साथ २ गोल र २ असिस्ट गरे ।

यो खेल मात्रै हैन, ग्रीजम्यान पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । उनी लगातार टोलीको हिस्सा मात्रै बनिरहेका छैनन्, गोल पनि प्रशस्तै गरिरहेका छन् । उनले पछिल्ला ९ खेलबाट ७ गोल र ६ असिस्ट गर्दै १३ गोलमा सोझै सहभागी भएका छन्, जुन बार्सिलोनाका अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । उनी अहिले फ्रन्ट लाइनमा कप्तान मेस्सीसँग पहिलो रोजाइमा खेलिरहेका छन् ।

‘आज मैले गरेको २ गोल वा २ असिस्ट ठूलो कुरा होइन । मुख्य कुरा त टिमको जित हो । हामीले हार्दै गरेको खेल जित्यौं र अर्को चरण पुग्यौं । यो जितका लागि टिमलाई सघाउन पाउँदा म एकदमै खुसी छु,’ खेलपछि ग्रीजम्यानले भने, ‘कठिन अवस्थामा पनि हामीले टिमका रूपमा अन्तिम समयसम्म लड्यौं । र, ५ गोल गरेर खेल जित्यौं । हामीले आज जस्तो जित निकाल्यौं, यो बार्सिलोनाको शैलीको खेल र जित हो हो ।’

अर्को प्रसगंमा कुरा गर्दै ग्रीजम्यानले आफूमाथि प्रशिक्षकले भरोसा देखाउन थाल्दा आफूमा पनि आत्मविश्वास बढेको बताए । त्यसको प्रभाव आफ्नो प्रदर्शनमा देखिएको ग्रीजम्यानको भनाइ थियो । ‘टिमलाई कसरी तयार पार्ने र चलाउने भन्ने कुरा प्रशिक्षक र कप्तानको हातमा हुन्छ । पछिल्लो समय मलाई कोचले जुन भरोसा देखाएर मौका दिइराख्नुभएको छ, त्यसले मभित्र आत्मविश्वास बढाएको छ । मेरा लागि यो एकदमै महत्त्वपूर्ण कुरा हो । अहिले मलाई प्रशिक्षक, कप्तान र सिंगो टिमले जसरी सघाइरहेका छन्, त्यसले मेरो प्रदर्शनमा प्रभाव पारेको साँचो हो,’ उनले थपे ।

ग्रीजम्यानले आफू सधैं हरेक खेलमा टोलीको हिस्सा बन्न र खेल्न तयार रहेको पनि बताए । ‘म टिमका हरेक खेलमा सुरुआत गर्न र हरेक मिनेट खेल्न चाहन्छु । यदि मलाई कोचले विश्वास देखाउँछन् भने म पनि आफूलाई साबित गरेर देखाउँछु । किनभने, खेलाडीका लागि आत्मविश्वास बहुत ठूलो कुरा हो,’ ग्रीजम्यानले भने, ‘आजको खेलबाट म एकदमै खुसी छु । म अझै उत्साहित र आत्मविश्वासी बनेको छु ।’

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ११:३९
Loading...