कोपा इटालिया सेमिफाइनल : नापोली र एटलान्टा रोकिए

काठमाडौं, माघ २२
नकआउट कोपा इटालिया फुटबलको सेमिफाइनलमा नापोली र एटलान्टा बराबरीमा रोकिएका छन् । सेमिअन्तर्गत गत राति भएको पहिलो लेगको खेलमा नापोली आफ्नै मैदानमा पाहुना टोली एटलान्टासँग गोलरहित ०–० मा रोकियो । खेलभरि नै दुवै तर्फबाट गोल हुन नसकेपछि अब फाइनल प्रवेशका लागि यी दुई टिमले दोस्रो लेगको खेलमा निर्णायक भिडन्त गर्नेछन् ।

आफ्नो मैदानमा नापोलीले एटलान्टाविरुद्ध तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरेको थियो । खेलरिभमा उसले कूल १० पटक आक्रमण बुन्दा मात्रै २ पटक सही दिशामा हानेको थियो । यता, पाहुना टोली एटलान्टाले भने खेलभरिमा कूल १७ पटक नापोलीको पोस्टमा आक्रमण बुन्दा ४ पटक सही दिशामा प्रहार गरेको हो । दुवै टिमले पटक–पटक गोलका अवसर सिर्जना गरे पनि खेल गोलविहीन हुन पुग्यो ।

अब दोस्रो लेगको खेल एटलान्टाको मैदानमा फेब्रअुरी १० तारिखमा हुनेछ । सो खेलबाट फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । सो खेलमा घरेलु टोली एटलान्टलाई फाइनल पुग्न कम्तीमा १–० को स्पष्ट जित चाहिन्छ भने पाहुना टोली नापोलीले अवे मैदानमा १–१ को बराबरी मात्रै गरे पनि अवे गोलका आधारमा फाइनल प्रवेश गर्नेछ ।

यसअघि भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टर मिलानलाई उसकै घरमा १–२ ले हराएर फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । २ अवे गोलको फाइदा लिएर युभेन्टस आफ्नो घरमा दोस्रो लेग खेल्दा मिलानसँग ०–१ ले पराजित भए पनि फाइनल पुग्न काफी हुनेछ । १ गोल खाएर पराजित हुँदा खेल एग्रीगेटमा २–२ हुने भए पनि बढी अवे गोलका आधारमा युभेन्टस फाइनल प्रवेश गर्नेछ ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार १०:२६
Loading...