ब्राइटनले लिभरपुललाई उसकै घरमा हरायो : उपाधि होडमा ठूलो धक्का

काठमाडौं, माघ २२
इंग्लिस प्रिमियर लिग फुटबलको साबिक च्याम्पियन लिभरपुल अर्को हारको सिकार भएको छ । गत राति भएको लिगको २२औं साताको खेलमा लिभरपुललाई उसकै घरेलु मैदानमा पाहुना टोली ब्राइटनले ०–१ ले स्तब्ध बनायो । लिभरपुलका लागि यो सिजनको चौथो पराजय हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले एनफिल्ड मैदानमा यति फितलो खेल्यो कि, उसले खेलभरिमा जम्मा १ पटक मात्रै प्रहार अन टार्गेट प्रहार गर्न सक्यो । उसले खेलभरिमा जम्मा ११ पटक आक्रमण बुन्दा एकपटक सही दिशामा हानेको थियो । यता, पाहुना टोली ब्राइटनले कूल १३ पटक आक्रमण बुन्दा ४ पटक सही दिशामा हानेको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा लिभरपुलले पहिला गोल खायो । ५६औं मिनेटमा ब्राइटनका स्टेभेन ल्जाटेले गोल गरेर लिभरपुलाई झट्का दिएका थिए । अन्ततः गोल खाएपछि लिभरपुल खेलमा फर्किन सकेन । र, ब्राइटनले सोही अग्रता बचाएर खेल ०–१ ले जित्यो ।

अब यो हारपछि लिभरपुललाई उपाधि होडमा ठूलो झट्का लागेको छ । यो हारको फाइदा अब लिग लिडर म्यानचेस्टर सिटीलाई पुग्ने भएको छ । अहिले लिभरपुल २२ खेलपछि ४० अंक बनाएर चौथो स्थानमा छ । लिभरपुल एक खेल कम खेलेको लिग लिडर सिटीभन्दा अहिले नै ७ अंकले पछि परेको छ । यदि सिटीले बाँकी एक खेल पनि जिते लिभरपुल १० अंकले पछि पर्नेछ । विजयी ब्राइटन २२ खेलपछि २४ अंक बनाएर लिगको १५औं स्थानमा चढेको छ ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०८:४२
Loading...