ग्रानाडामाथि नाटकीय कमब्याक जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

काठमाडौं, माघ २२
कमजोर टिमसँग ०–२ को खराब हारको मुखमा पुगेर नाटकीय रूपमा कमब्याक जित निकाल्दै बार्सिलोना स्पेनिस नकआउट कोपा डेल रे कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम आठको खेलमा बार्सिलोनाले ला लिगा टोली ग्रानाडालाई उसकै घरेलु मैदानमा ३–५ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान तय गरेको हो । खेलको ८७औं मिनेटमा पुग्दा ०–२ ले पछि रहेको बार्सिलोनाले त्यसपछि ५ मिनेटमा २ गोल गरेर निर्धारित ९० मिनेट सकिँदा खेल २–२ मा टुंगायो ।

त्यसपछि खेल ३० मिनेटको थप समयमा गयो । जहाँ बार्सिलोनाले आफूले १ गोल खाँदै ३ थपेर खेल ३–५ ले जित्न सफल भयो । पटक–पटक नाटकीय मोड लिएको खेलमा बार्सिलोनालाई जिताउन एन्टोनी ग्रीजम्यान र जोर्डी अल्बा नायक बने । ग्रीजम्यानले टिमका लागि २ गोल र २ असिस्ट गरे । त्यसैगरी, अल्बाले पनि २ गोल र १ असिस्ट गरे । फ्रेन्की डे जोङले टिमका लागि पाँचौं गोल गरेर जित सुनिश्चित गरेका थिए । मेस्सीले प्रेरणादायी प्रदर्शन गरेको खेलमा उनले १ गोलमा सोझै असिस्ट गर्दा ५ मध्ये ४ गोलमा अवसर सिर्जना गरेका थिए ।

प्रकाशित मिति २२ माघ २०७७, बिहीबार ०३:३३
Loading...