‘सब्सिच्युट हुँदा रिसाएका’ रोनाल्डोलाई पिर्लोले दिए ‘कडा’ जवाफ

एजेन्सी, माघ २१
गत राति (मंगलबार) कोपा इटालिया फुटबलको सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानलाई उसकै घरमा १–२ ले हरायो । अवे मैदानमा पछि परेको अवस्थामा टिमलाई कमब्याक जित दिलाउन ३६ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डो नायक बने । टिमका लागि २ वटै गोल उनैले गरे । उनले १६औं मिनेटमा पेनाल्टीमार्फत् बराबरी गोल गरे भने ३५औं मिनेटमा सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलभरि नै दुवै तर्फबाट थप गोल नहुँदा युभेन्टसले पहिलो लेगको खेलमा १–२ को जित निकाल्यो । तर, २ वटै गोल गरेर टिमलाई जिताएका रोनाल्डो भने दोस्रो हाफमा सब्सिच्युट हुनुपर्दा खुसी भएनन् । प्रशिक्षक आन्ड्रेया पिर्लोले उनलाई खेलको ७७औं मिनेटमा मैदानाट निकाले । उनको स्थानमा अल्भारो मोेराटालाई मैदान छिराए । तर, आफूलाई सब्सिच्युट गर्ने पिर्लोको निर्णयमा रोनाल्डो विल्कुलै खुसी देखिएनन् ।

चाँडै मैदान छाड्नुअघि पहिलो हाफमा २ गोल गरिसकेका रोनाल्डोलाई मिलानविरुद्ध ह्याट्रिक गर्ने अवसर थियो । अन्तिमम्म खेलेको भए उनले ह्याट्रिक गोल गर्न सक्थे, जुन रोनाल्डो पनि चाहन्थे । तर, पिर्लोले ७७औं मिनेटमा सब्सिच्युट गरिरिदिएपछि रोनाल्डोले देखिने गरी शारीरिक हाउभाउले रिसाएको प्रतिक्रिया दिए । कारण– उनी सम्भावित ह्याट्रिक गर्न सक्थे । त्यसै पनि रोनाल्डो अक्सर सुरुआतमा मैदान उत्रिएपछि सधैं पूरा समय खेल्न चाहने खेलाडी हुन् ।

रोनाल्डो सब्सिच्युट हुँदा रिसाएको यो नै पहिलोपटक होइन । यसअघि युभेन्टसमै अघिल्ला प्रशिक्षक माउरिसियो सार्रीको पालामा पनि रोनाल्डो सब्सिच्युट हुँदा रिसाएका थिए, जुन विषय निकै चर्चित पनि बन्यो । उत्कृष्ट प्रदर्शन गरिरहेका बेला र अझै गोल थप्न सक्ने अवस्थामा मैदान छाड्नुपर्दा रोनाल्डो मात्रै हैन, जोकोही खेलाडी रिसाउनु सामान्य नै हो । गत राति मिलानविरुद्धको खेलमा सब्सिच्युट भएर मैदान छाडेर बेन्चतर्फ जाँदै गर्दा पनि रोनाल्डोले प्रशिक्षक पिर्लोलाई केही भनेर आफ्नो असन्तुष्टि पोखे । हाउभाउबाट पनि उनी रिसाएको स्पष्टै देखिन्थ्यो ।

पिर्लोको कडा जवाफ– ‘उनलाई सब्सिच्युट नगर्न सम्झौता भएको छैन’

खेलपछि पत्रकार सम्मेलनमा मिडियाले प्रशिक्षक पिर्लोसँग सब्सिच्युट हुँदा रोनाल्डो रिसाएको विषयमा प्रश्न सोधे । जहाँ उनले रोनाल्डो रिसाउनु सामान्य रहेको बताउँदै आवश्यकता र अवस्थाअनुसार जो खेलाडी पनि सब्सिच्युट हुने बताए । पिर्लोले रोनाल्डोलाई सब्सिच्युट गर्न नपाउने कुनै सम्झौता नभएको भन्दै कडा जवाफ पनि दिए । पिर्लोले भने–

‘यस्तो खेलमा राम्रो खेलिरहेका बेला मैदान छाड्नुपर्दा क्रिस्टियानो रिसाउनु सामान्य हो । उनले यस्तो प्रतिक्रिया दिन्छन् भन्ने मलाई थाहा थियो । किनभने, म पनि खेलाडी थिएँ । र, चाँडो मैदान छाड्दा रिसाउँथें । जस्तै महान् खेलाडी पनि खेलको अन्तिम मिनेटसम्म मैदानमा रहन र खेल्न चाहन्छन् । क्रिस्टियानो यस्तै स्वभावका छन् । मलाई उनको यो आदत एकदमै मनपर्छ । आत्मविश्वासी खेलाडीमा यस्तो कुरा हुनुपर्छ । किनभने, यो त उनको आफ्नो चरित्र हो ।’

पिर्लोले अघि थपे– ‘उनी किने रिसाए मैले बुझें । मैले किन उनलाई प्रतिस्थापन गरे, उनले पनि बुझेका छन् । त्यसबेलाको उनको प्रतिक्रिया कस्तो थियो, यो ठूलो कुरा होइन । हामीबीच निकै राम्रो सम्बन्ध र समझदारी छ । हामी केही दिनमै अर्को महत्त्वपूर्ण खेल खेल्दैछौं । र, म उनको फिटनेसमा जोखिम चाहँदिनँ । उनले २ गोल गरेपछि पहिल्यै पहेंलो कार्ड पाइसकेका थिए । सम्भावित दोस्रो कार्ड र चोटको जोखिमबाट बचाउन मैले उनलाई निकाल्ने निर्णय गरें । र, उनलाई सब्सिच्युट गर्न नपाउने सम्झौता हामीबीच भएको पनि छैन (हाँस्दै) । मैले भनें नि, हाम्रा लागि यस्ता कुरा विषय नै होइनन् । सायद मिडियाका लागि मसाला बन्छ होला ।’

पिर्लोले रोनाल्डोको उच्च प्रशंसा पनि गरे । ‘यसअघि चार लिग खेलमा गोल नहुँदा उनी निराश थिए । तर, आज उनले टिम पछि परेको अवस्थामा २ गोल गरे । र, टिमको जितमा योगदान दिए । उनीबाट म सधैं खुसी छु । आज झनै खुसी । मैले सधैं भन्ने गरेको छु, क्रिस्टियानो हाम्रा लागि हरेक खेल र हरेक मिनेटका लागि महत्त्वपूर्ण छन् । उनी नहुँदा टिमको स्तर र नतिजामा ठूलो फरक पर्छ ।’

प्रकाशित मिति २१ माघ २०७७, बुधबार २१:३४
Loading...