पिएसजीसँग नयाँ सम्झौता गर्दै नेइमार

एजेन्सी, माघ २१
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले क्लबसँग नयाँ सम्झौता गर्ने तयारी गरेका छन् । फ्रेन्च मिडियाका अनुसार उनी लिग वान क्लबसँग परिमार्जित ‘बम्पर डिल’मा नयाँ सम्झौताका लागि राजी भएको रिपोर्टमा उल्लेख छ । हाल २८ वर्ष पुगेका नेइमारले आगामी चार सिजनसम्मका लागि सम्झौता गर्नेछन् । यसअनुसार उनले सन् २०२६ समरको अन्त्यसम्म पिएसजीमै रहने गरी सम्झौता हुन लागेको छ । पिएसजीले नेइमारसँग परिमार्जित सम्झौता गर्नेछ ।

नेइमार सन् २०१७ मा स्पेनिस बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए । पिएसजीले ठूला उपाधि जित्नका लागि नेइमारलाई रेकर्ड मूल्यमा भित्र्याए पनि त्यसअनुसार पिएसजीले सफलता पाउन सकेको छैन । नेइमारको अनुबन्धपछिको च्याम्पियन्स लिगमा ठूलो सफलता भनेको गत सिजन पिएसजी च्याम्पियन्स लिगको फाइनल पुग्नु नै हो । फाइनलमा पिएसजी जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको थियो ।

तर, पिएसजी अझै पनि नेइमारलाई क्लबमै राख्न चाहन्छ । अर्का युवा स्टार केलियन एमबाप्पेले निकट भविष्यमै क्लब छाड्ने सम्भावना रहेकाले पिएसजी नेइमारलाई समेत गुमाउन चाहँदैन । तसर्थ पिएसजी नेइमारलाई अझै केही सिजन पेरिसमै राख्न चाहन्छ । किनभने, पिएसजी अझै पनि नेइमारका साथ च्याम्पियन्स लिग जित्न सकिन्छ भन्नेमा आशावादी छ ।

यता, आगामी समर विन्डोमा पिएसजी स्पेनिस बार्सिलोनाबाट लिओनल मेस्सीलाई फ्री ट्रान्सफरमा भित्र्याउने दौडमा रहेकाले पनि पिएसजी नेइमारलाई यथावत राखन चाहन्छ । रिपोर्टअनुसार अहिले पिएसजी नेइमार र मेस्सीसहितको ‘ड्रिम प्रोजेक्ट’का काम गर्न चाहन्छ । मेस्सीलाई फ्रीमा भित्र्याउन सकिने विश्वासका साथ पिएसजी नेइमारसँग मेस्सीलाई एक गराएर ठूला उपाधि जित्ने सपनामा अघि बढेको देखिन्छ ।

२४ वर्षको युवा उमेरमा पिएसजीमा पुगेका नेइमार पटक–पटक गम्भीरखाले चोटबाट गुज्रिँदा लामो समय मैदानबाहिर रहँदै आएका छन् । नेइमारले हालसम्म पिएसजीका लागि १०१ खेल खेल्दै कूल ८३ गोल गरेका छन् । उनले पिएसजीबाट तीन लिग वानसहित कूल १० उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १९:१३
Loading...